गोरखास्थित दरौंदी नदीमा बन्ने ९.८४ मेगावाटको दरौंदी जलविद्युत आयोजना निर्माणका लागि दुई अर्ब १९ करोड ९५ लाख १६ हजार ५१०.५९ रूपैयाँ लागत अनुमान गरिएको छ।
अर्ध जलाशययुक्त यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) अनुसार लागतको ३० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणका सेवानियुक्त कर्मचारी, जिल्लावासी र देशभरका जनताहरूबाट जुटाइनेछ।
उनीहरूको ६५ करोड ९८ लाख ५४ हजार ९५३ रूपैयाँ लगानी रहनेछ। त्यस्तै, लागत अनुमानको ७० प्रतिशत विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरिनेछ।
यो आयोजना गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १२, १३ र १४ पालुङटार नगरपालिका वडा नम्बर ९ र सहिद लखन गाउँपालिका वडा नम्बर १,२ र ३ मा रहनेछ।
आयोजनाका प्रमुख संरचनाहरूमा डाइभर्सन ब्यारेज, इन्टेक, ग्राभेल ट्राप, स्यान्ड फ्लासिङ चेम्बर, हेडरेस टनेल, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युत गृह, टेलरेस, स्वीचयार्ड र प्रसारण लाइन छन्। आयोजनाको डाइभर्सन ब्यारेज गोरखा सदरमुकाम जाने राजमार्गको अब्बुआ भन्ने ठाउँमा बनेको पक्की पुलबाट करिब ६०० मिटर उत्तरतर्फ रातो ढुंगा भन्ने ठाउँमा रहनेछ।
डाइभर्सन ब्यारेजको दायाँ भाग गोरखा नगरपालिका वडा नम्बर १३ र बाँया भाग सोही नगरपालिकाको वडा नम्बर १२ मा बन्नेछ। ब्यारेजको चौडा ४७ मिटर रहनेछ। यो ९ मिटर अग्लो हुनेछ।
ब्यारेजको डिजाइन नदीको दाहिने किनारामा रहेको इन्टेकमा २७.९७ घनमिटर प्रतिसेकेन्डको बहाब कायम गर्नुपर्नेछ। सतहको लेबल ३३० मिटर हुनेछ। १० मिटर चौडा ओभरफ्लो स्पिलवे कंक्रिटको पनि व्यवस्था छ।
त्यस्तै, आयोजनाको इन्टेक संरचना वडा नम्बर १३ नदीको दाहिने किनारामा तीन वटा रेडियल गेटपछि रहेको छ। ६ वटा २.५ मिटर उचाइको इन्टेक ट्र्यास र्याकबाट आएको २७.९७ घनमिटर पानीलाई ३ मिटरका दुइटा ११४.७५ मिटर लम्बाईको बक्स कल्भटबाट बालुवा छान्ने पोखरीसम्म पुर्याइनेछ।
इन्टेकको सिल लेभल ३३२.९७ मिटर रहनेछ। ६ वटा इन्टेकबाट पानीको बहाममा आएको १२ मिलिमिटरसम्मको कणलाई ग्राभेल ट्र्याप च्याम्बरमा थिगारी फ्लसिङ गरिनेछ। ग्राभेल फ्लसिङको लम्बाइ करिब २३ मिटर हुनेछ।
ग्राभेल ट्र्यास र्याक र फ्लसिङ क्यानल पनि वडा नम्बर १३ मै बन्नेछ। यसको लम्बाइ ४४.५० मिटर र चौडाइ ३ मिटर हुनेछ। उचार पनि ३ मिटर हुनेछ।
बालुवा छान्ने पोखरीको २३.५० मिटरको ट्रान्जिसन र ९० मिटर लम्बाइ रहनेछ। २८ मिटर चौडाइ र ९.८७ मिटर गहिराइ रहन्छ।
यो आयोजनाको हेड पोण्डको सबैभन्दा तल्लो सहत ३२७.६० मिटरदेखि ३३३.६३ मिटर रहन्छ। माथिल्लो सतह ३३९ मिटर रहन्छ।
विद्युत गृह सिमलगैरा भन्ने स्थानमा रहनेछ। विद्युत गृहको लम्बाइ ४० मिटर र चौडाई २५.२८ मिटर रहनेछ। उचाई २६.४१ मिटर हुनेछ। आयोजनाले गोरखा जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिद लखन नगरपालिकालाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
संरचनाका लागि कुल २२.३६ हेक्टर जग्गा आवश्यक पर्ने देखिन्छ। जसमध्ये राष्ट्रिय वन क्षेत्र १५.७१ हेक्टर, निजी क्षेत्रको खेतीयोग्य जमिन ६.०२५ हेक्टर छ। आयोजनालाई स्थायी रूपमा कुल १९.७६ हेक्टर र अस्थायी १.९३ हेक्टर जमिनको आवश्यकता रहेको इआइए प्रतिवेदनमा औंल्याइएको छ।
अस्थायी जग्गा निर्माण चरणका लागि मात्र प्रयोग हुने र निर्माण सकिएपछि पहिलेकै अवस्थामा फिर्ता गरिने वा आयोजनाले राख्ने उल्लेख गरिएको छ। निर्माणको विभिन्न चरणमा सामुदायिक वन क्षेत्रमा भएका ११६ वटा रूखहरू क्षती हुनेछन्।
यो आयोजना निर्माणका लागि दक्ष तथा अर्ध-दक्ष ३७५ जनाले काम पाउनेछ। जसमध्ये ७५ जना दक्ष जनशक्ति आवश्यक पर्ने अनुमान छ। ७५ जना अर्ध-दक्ष र बाँकी २२५ जना अदक्ष हुनेछन्।
अदक्ष जनशक्तिमा स्थानीयलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। स्थानीय स्तरमा उपलब्ध हुन नसकेको खण्डमा दक्ष जनशक्तिलाई बाहिरबाट नियुक्त गरिनेछ।
श्री मनकामना दरौंदी हाइड्रोपावर कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको यो आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ। मन्त्रालयमा इआइएमा राय सुझावका लागि सूचना निकालेको छ।