ठेक्का लिएर निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने पाँच निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय भक्तपुरले स्पष्टिकरण सोधेको छ।
जिल्लाभित्रका विभिन्न सडक स्तरोन्नतीको ठेक्का लिएर काम नगरेपछि कार्यालयले पटकपटक मौखिक, टेलिफोन, पत्राचार गरेपनि ती निर्माण व्यवसायी सम्पर्क नआएपछि कार्यालयले ठेक्का तोड्ने चेतावनीसहित सात दिने स्पष्टिकरण सोधेको हो।
कार्यालयले लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एनएस बिल्डर्स सुर्खेत, सिन्धुपाल्चोकको गौतम कन्स्ट्रक्सन, काठमाडौंको ओम नीलकण्ठेश्वर कन्स्ट्रक्सन र ललितपुरको बानियाँ/कान्तिपथ जेभीलाई स्पष्टिकरण सोधेको हो।
लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्स २०७८ चैत २९ गते ग्वार्को-लाकुरी भञ्ज्याङ-पनौती दाहालटार सडक खण्ड स्तरोन्नति गर्ने ठेक्का लिएर समयमा काम नगरेको कार्यालयले जनाएको छ।
त्यस्तै एनएस बिल्डर्सले च्यामासिहं-नाला बनेपा सडक मर्मतका लागि २०७६ साल मंसिर ८ गते ठेक्का लिएर काम पूरा नगरेको, गौतम कन्स्ट्रक्सनले सल्लाघारी-दरबार स्क्वायर सडक मर्मतका लागि २०७७ फागुन १७ मा ठेक्का लिएर समयमा काम नसकेको, नीलकण्ठेश्वर कन्स्ट्रक्सनले अरनिको राजमार्ग अन्तर्गत चाल्नेडुंगा-खावा-लामीडाँडा-दोलालघाट सडक स्तरोन्नतिका लागि २०७७ चैत २८ मा ठेक्का लिएर काम नगरेको र बानियाँ/कान्तिपथ जेभीले काभ्रेको त्रिवेणीघाटस्थित बंखुखोलामा पक्की पुल बनाउन २०७८ वैशाख १९ गते निर्माण सम्झौता गरेर समयमा काम नगरेको कार्यालयले जनाएको छ।
त्यसकारण ती पाँच निर्माण व्यवसायीहरूसँग ठेक्का किन नतोड्ने भन्ने स्पष्टिकरण माग गरिएको कार्यालयले जनाएको छ।
सात दिनभित्र चित्तबुझ्दो स्पष्टिकरणसहित उपस्थित नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ।
साथै कार्य सम्पादन जमानत बापतको रकम जफत गर्नुका साथै सम्झौता अन्त्य भएको कारणले सम्झौता बमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल उपर गरिने पनि कार्यालयले चेतावनी दिएको छ।