ऊर्जा उत्पादकहरूले १० वर्षमा भारत निर्यात गर्ने १० हजार मेगावाट बिजुली आफैं उत्पादन गर्न निजी क्षेत्र सक्षम भएको बताएका छन्।
आइतबार एक कार्यक्रम गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले सरकारले लगानीको सहज वातावरण बनाइदिने हो भने आफूहरूले १० हजार मेगावाट बिजुली सहजै उत्पादन गर्न सक्ने बताए।
'एकै पटक विदेशी लगानीकर्ता आउँदैनन्, सुरूमा त नेपालीहरूका लागि वातावरण बनाइदिनुपर्छ। यो क्षेत्रमा नेपालीहरूले एक हजारदेखि लिएर अर्बौं लगानी गरेका छन्, साँच्चै वातावरण बन्ने हो भने ठूलो लगानी थपिन्छ। नेपालकै पैसाले १० हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छौं,' उनले भने।
इप्पानले १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने सुझाव सरकारलाई दिएको उनले बताए।
सरकारले सन् २०३५ सम्ममा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि ४६ खर्ब लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ।
उत्पादित २८ हजार मेगावाटमध्ये १३ हजार मेगावाट देशमै खपत गर्ने र १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ।
लगानीमैत्री वातावरण हुने हो भने अब निजी क्षेत्र ठूला–ठूला आयोजना निर्माण गर्न पनि सक्षम भइसकेको कार्कीले बताए।
'संसदको पूर्वाधार समितिमा भारतले १० हजार मेगावाटमध्ये १८ सय मेगावाट बिजुली भारतीय लगानीका आयोजनाबाट लैजाने र बाँकी यहाँका लगानीका आयोजनाबाट लैजाने भन्ने कुरा राखिएको थियो। हामीले बनायौं भने न हाम्रो लगानीको आयोजनाको बिजुली भारतले लैजान्छ,' उनले भने।
अब सरकारले निजी क्षेत्रलाई पनि विद्युत व्यापारका लागि बाटो खुला गर्नुपर्ने उत्पादकहरूको भनाइ छ।
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ। यो सम्झौताअनुसार भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुनेछ। यसका लागि आवश्यक विद्युत उत्पादन तथा प्रसारणलाइन लगायत संरचना विकास गरिने उल्लेख छ।
इप्पानले पनि अन्तरदेशीय प्रसारण लाइन विकासमा जोड दिनुपर्ने उल्लेख गरेको छ।