नेपाल विद्युत प्राधिकरणले सर्वोत्तम सिमेन्टलाई दिएको लाइन औद्योगिक फिडर रहेको देखिएको छ।
विगतमा ट्रंक लाइन प्रयोग गरेको अतिरिक्त महशुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले सर्वोत्तम सिमेन्टको गत आइतबारबाट लाइन काटेको छ। प्राधिकरणको विवरणअनुसार ट्रंक लाइनबापतको यो उद्योगले ७३ करोड २२ लाख रूपैयाँ बक्यौता तिर्न बाँकी छ।
तर, विद्युत प्राधिकरणको परासी वितरण केन्द्रले बुटवल क्षेत्रीय कार्यालयलाई लेखेको पत्र अनुसार सर्वोत्तम सिमेन्ट उद्योगको सप्लाई ट्रंकलाइनबाट नभइ औद्योगिक फिडरबाट भएको उल्लेख छ।
'सर्वोत्तम सिमेन्ट उद्योगको सप्लाई जोगीकुटी १३२/३३ केभी ६३ एमभिए ट्रान्सफर्मरबाट शितलनगर ३३/११ केभी सबस्टेसन हुँदै गएको ३३ केभी लाइनमा ५ एमभी लोड स्वीकृत भएको थियो। यो ट्रंक लाइन नभई ३३ केभी औद्योगिक फिडर रहेको छ,' पत्रमा उल्लेख गरिएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार डेडिकेटेड लाइन भनेको एउटा सवस्टेसनबाट एउटै उद्योगलाई मात्रै जाने लाइन हो। यसो हुँदा एउटै बत्ति काट्दा वा दिँदा एउटा मात्रै उद्योग प्रभावित हुन्छ।
ट्रंकलाइन भनेको एउटा सवस्टेसनबाट अर्को सवस्टेसनमा जाने लाइन हो। यसमा बीचको लाइन प्रयोग गरी उद्योगलाई विद्युत दिइन्छ। यसो हुँदा सवस्टेशनबाट लाइन दिएका सबै ग्राहकको विद्युत काटिन्छ।
औद्योगिक फिडर एउटा सवस्टेशनबाट विभिन्न उद्योगलाई दिइने लाइन हो। त्यसको लागि दुई वा दुईभन्दा बढी उद्योग हुनुपर्ने हुन्छ। यसो हुँदा बत्ति काटिदा सबै उद्योगमा काटिन्छ। बत्ति आउँदा सबैमा आउँछ।
सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले प्राधिकरणकै पत्रले स्पष्ट पारेकाले ट्रंक र डेडिकेटेड लाइनको सुविधा नलिएको बताए पनि अहिले प्रयोग गरिएको भन्दै पैसा तिर्न लगाएको गुनासो गरे।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले पत्रका विषयमा आफू जानकार नभए पनि प्राधिकरणले प्रयोगका आधारमा मात्रै बक्यौता तिर्न आग्रह गरिएको बताए।