प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगदेखि चुलोसम्म विद्युत खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढेको बताएका छन्।
मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले बिजुलीको उज्यालो देशकै उज्यालो बन्ने लाइनमा रहेको बताए।
'अब सरकारले गेमचेन्जर, ठूला जलविद्युत अयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको छ। किनकी भारत, बंगलादेश र चीन समेत हाम्रो विद्युत व्यापारका साझेदार बन्न तयार भएका छन्,' उनले भने।
उनले सरकारले बुढीगण्डकी, कर्णाली चिसापानी लगायत थुप्रै ठूला जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
'तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत प्राधिकरणबाट १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको थप अध्ययन सुरू भएको छ। एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत आयोजनाको अध्ययन सम्पन्न भएको छ। अहिले कार्यान्वयनमा रहेको ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनालाई मैले सिधै सहजीकरण गरिरहेको छु,' उनले भने।
एक हजार ६३ मेगावाटको माथिल्लो अरूणलाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर समेत सोही आयोजनालाई उपलब्ध गराइने छ र स्रोतको अभाव हुन नदिने उल्लेख गरे।
आउँदो तीन महिनाभित्र परीक्षण भइरहेकाआयोजनाबाट थप ५६४ मेगावाट बिजुली उत्पादन गरिने उनले उल्लेख गरे।
आफू दोस्रो पटक प्रधानमन्त्री हुनुभन्दा अगाडिसम्म देशमा १८ घण्टा लोडसेडिङ हुने स्मरण गर्दै उनले अहिले सिंगो देशमा विद्युत पहुँच पुगेको दाबी गरे।
'वर्खायाममा पनि विद्युत आयात गर्नुपर्ने देश आज विद्युत निर्यात गर्ने ठाउँमा पुगेको छ। विगत एक वर्षमा ७०० मेगावाटसम्म बिजुली निर्यात गरी १५ अर्ब रूपैयाँ २७ करोड विदेशी मुद्रा आर्जन गरिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो। पाँच वर्षअघि यो अवस्थाको कल्पना पनि गरिएको थिएन,' उनले भने।
वि.स १९६८ मा फर्पिङ जलविद्युत अयोजनाबाट विद्युत उत्पादनबाट सुरू भएको त्यसपछिका एक सय चार वर्षमा जम्मा ८०० मेगावाट मात्रै उत्पादन क्षमता पुगेको बताउँदै उनले विगत सात वर्ष भित्र नेपालको विद्युत उत्पादन क्षमता बढेर २८ सय ९२ मेगावाट पुगेको बताए।
जसमध्ये करिब ५४१ मेगावाट यहि वर्षमा मात्रै थप भएको उनले उल्लेख गरे।
'विगतका हिसाबले एक वर्षको उत्पादन ८० वर्ष बराबर हो। तर मैले यसमा सन्तोष मानेको छैन। नेपालको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो,' उनले भने।
यसै वर्ष भएको भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा प्रारम्भिक हस्ताक्षर हुनु नेपालको समृद्धिका लागि इतिहासकै सबैभन्दा ठूलो र दुरगामी सहमती भएको उनको भनाइ छ।
'भारतसँग मात्रै नभएर बंगलादेशसँग पनि विद्युत व्यापारको एकदमै नजिक पुगेका छौं। नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म बिजुली निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ,' उनले भने। चीनसँग जोड्ने प्रसारणलाइन पनि अघि बढाउने सहमती भएको उनले उल्लेख गरे।
'गम्भीर भएर सोचौं त देशले हरेक वर्ष पाँच खर्ब बराबरको बिजुली निर्यात गर्नु र त्यतिनै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देश सरह हुन हामीलाई कति नै समय लाग्ला र? उनले भने, 'म निराशावादीलाई सोध्न चाहान्छु। हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा कहिल्यै पुगेको थियो र?'