प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो एक वर्षमा ८० वर्षमा उत्पादन भए बराबर बिजुली उत्पादन गरेको दाबी गरेका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसबाट पनि आफूलाई सन्तोष नमिलेको बताए।
'विगत ७ वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता बढेर २८ सय ९२ मेगावाट पुगेको छ। जसमध्ये करिब ५४१ मेगावाट यहि वर्षमा मात्रै थप भएको छ। विगतका हिसाबले एक वर्ष ८० वर्ष बराबर हो। तर मैले यसमा सन्तोष मानेको छैन। नेपालको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो,' उनले भने।
आफू दोस्रो पटक प्रधानमन्त्री हुनुभन्दा अघि सम्म देशमा १८ घण्टा दैनिक लोडसेडिङ भएको स्मरण गर्दै उनले अहिले देशभर विद्युत पहुँच पुगेको उल्लेख गरे।
'वर्खा याममा पनि विद्युत आयात गर्नुपर्ने देश आज विद्युत निर्यात गर्ने ठाउँमा पुगेको छ। विगत १ वर्षमा ७०० मेगावाटसम्म बिजुली निर्यात गरी १५ अर्ब रूपैयाँ २७ करोड विदेशी मुद्रा आर्जन गरिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो। पाँच वर्षअघि यो अवस्थाको कल्पना पनि गरिएको थिएन,' उनले भने।