पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको सञ्जाल (टुगेदर फर टुरिजम)ले भूकम्प पीडितका लागि राहत रकमका साथै सामग्री हस्तान्तरण गरेको छ।
होटल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वले सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'लाई जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेका हुन्।
पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८७८ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख बराबरको एक्रिलिक पन्चु पाँच सय थान र लाइभ सेभर वाटर फिल्टर १५ वटा साथै स्कल नेपालको तर्फबाट ५ लाख बराबरको ब्लाङकेट २४० थान दिइएको हो।
त्यस्तै, स्लिपिङ व्याग सय थान, ह्विल चियर ५ थान, स्ट्रेचर ५ थान, प्रोटेक्टिभ सुट २० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख बराबरको नगद जिन्सी रहेको थियो।
साथै, बढ्दो जाडो याममा भूकम्प पीडितहरूलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एक मुखे चुल्हो लगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त देखिएको पनि सो अवसरमा जानकारी गराइएको थियो।
हस्तान्तरण कार्यक्रममा होटल संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदैको अवधारणा अन्तर्गत कार्यक्रमहरू छिट्टै सञ्चालन गरी भूकम्प पीडितहरूलाई जिविकोपार्जनमा सहयोग पुर्याउने बताए।