भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पोखराको सेती नदीमाथिको चार लेन सिग्नेचर ब्रिजको शनिबार शिलान्यास गरेका छन्।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा १ सय ९० मिटर लामो पुलको शिलान्यास गरेका हुन्।
एक अर्ब १० करोड रुपैयाँ लागतमा सिग्नेचर पुलको निर्माण कार्य थालनी भएको छ।
२०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको छ। शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाए।
मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन्।
‘यो वा त्यो बहानामा काममा ढिलाइ गर्न पाइँदैन, समयमै काम सक्नेगरी सबै पक्षले सक्रियता देखाउनुहोस्’, मन्त्री ज्वालाले भने।
कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताएकी छन् भने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए।