१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ।
ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरूङ निर्माण गरी फर्काइएको छ।
डाइभर्सन सुरूङमार्फत् फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको हो।
जिल्ला समन्वय समिति,तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ,तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एशियाली विकास बैंकका वरिष्ठ निर्देशक प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कामको सुरू गरे।
अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने छ। उक्त बाँध आगामी मनसुन सुरूहुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ।
कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्पूर्ण कोशेढुङ्गा र फड्को भएको बताए। उनले विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमुना आयोजनाको रूपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गरे। समयमै सम्पन्न गर्ने गरी काम भइरहेको पनि घिसिङले बताए। आयोजना समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत छ। २०८३ असारभित्र (सन् २०२६ मे) सम्ममा निर्माण सक्ने लक्ष्य छ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताए। आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा उनले जोड दिए। निर्माणमा आइपर्ने स्थानीय समस्याहरुलाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धतासमेत जनाए।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए। भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए।
तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युतको प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारी लगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिनु पर्ने बताए। उनले स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिका कारण आयोजना हालको अवस्थामा पुगेको बताए। ।
एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युतमा लगानी गरेको उल्लेख गरे। यो आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलाप नमुनाको रुपमा दूधकोशी जलविद्युत आयोजनामा लागू गर्न सकिने बताए। उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक काम भएको उल्लेख गरे। उनले दूधकोशी जलविद्युतजस्ता ठूलो आयोजनाहरूमा एडिबीले लगानी गर्न लागिरहेको बताए।
तनहुँ हाइड्रोपावरका प्रवन्ध निर्देशक किरण कुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए। आयोजना निर्माणमा स्थानीय तह,प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको उल्लेख गरे।
आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिले प्याकेज अन्तर्गत निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने काम गरिरहेका छन्। यस्तो काम करिब ५४ प्रतिशत भएको छ।
प्याकेज-२ अन्तर्गतभूमिगत विद्युतगृह खन्ने काम सकिएको छ। कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरू जडान भइरहेको छ। टेलरेस सुरूङ निर्माण सकिएको छ। मुख्य सुरूङ खनिरहेको छ। यस प्याकेजको सिभिलतर्फ निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ। समग्र प्रगति करिब ४७ प्रतिशत छ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग २०७५ पुस १० मा खरिद सम्झौता भएको थियो। यो सम्झौता २०७५ फागुनदेखि कार्यान्वयनमा आइसकेको छ। ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरूको जग हालिएको छ। ३३ वटा टावर खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत छ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।