केही समयअघि स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले विभिन्न ३० वटा जलविद्युत आयोजनाहरूबाट दैनिक ५०० मेगावाट बिजुली खेर गइरहेको दाबी गर्यो।
इप्पानका उपमहासचिव प्रकाश दुलाल इप्पानले कुन–कुन आयोजनाको बिजुली खेर गइरहेको हो भन्ने सूची तयार गरिरहेको बताउँछन्।
उनले सामाजिक सञ्जालमार्फत् वन मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार रूख कटान सहमति वर्षौ रोक्दा कालीगण्डकी करिडोरको कुस्मा–न्यू बुटवल २२० केभी, न्यू बुटवल–बर्दघाट २२० केभी, बर्दघाट–भरतपुर २२० केभी बन्न नसकेको गुनासो पोखेका छन्।
त्यस्तै मार्कीचोक–भरतपुर, भरतपुर–हेटौंडा २२० केभी, हेटौंडा–कमाने–पतलैया २२० केभी प्रसारण लाइन बन्न नदिएर दोर्दी करिडोर र मर्स्याङ्दी करिडोरको ३०० मेगावाट बिजुली खेर गइरहेको बताएका छन्।
न्यू खिम्ती सबस्टेशन पूर्ण क्षमतामा सञ्चालन नभएर अथवा १३२/२२० केभीको ट्रान्सफर्मर नभएर लिखु र खिम्ती करिडोरमा उत्पादन भएको करिब १०० मेगावाट बिजुली खेर गइरहेको उनको तर्क छ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणको खेलाँचीले २२ करोड रूपैयाँको विद्युत खेर गएको गुनासो गरेका छन्। त्यस्तै इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारण लाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको आरोप लगाएका छन्।
विद्युत बिक्री गर्न नसक्ने अवस्थामा प्राधिकरणले निजी क्षेत्रका मात्रै आयोजना बन्द गराउने गरेको पनि आरोप उनीहरूको छ।
इप्पानका अर्का सल्लाहकार तथा सुपरदोर्दी 'ख' जलविद्युत आयोजनाका प्रवर्द्धक अर्जुन गौतम दोर्दी करिडोरमा ३६० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन भए पनि प्राधिकरणले २ हजार ७७६ मेगावाटका आयोजनाको आधा विद्युत मात्रै खरिद गरिरहेको बताउँछन्।
बुटवल पावर कम्पनीका प्रतिनिधि उत्तम अमात्यले गत वर्ष ६ महिनासम्म न्यादी आयोजनाबाट एक युनिट पनि विद्युत उत्पादन गर्न नपाएको गुनासो गरेका छन्। उनले यो वर्ष पनि आयोजनालाई पूर्ण क्षमतामा चलाउन प्राधिकरणले नदिएको आरोप लगाएका छन्।
यता विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने वास्तविकता व्यवसायीहरूले लगाएको आरोपभन्दा फरक रहेको दाबी गर्छन्।
'व्यवसायीहरूले जे बोलिरहेका छन्। त्यो सत्य होइन। रातिको समयमा १२ देखि १ बजेतिर कहिलेकाँही ९० देखि १०० मेगावाट बिजुली भने खेर जाने गरेको हो,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार सुपरदोर्दी करिडोरमा रातको समयमा २७ मेगावाट बिजुली खेर जाने समस्या छ। प्रसारण लाइनको क्षमताले नधानेका कारण यो बिजुली खेर गइरहेको उनको तर्क छ।
त्यस्तै, रातको समयमा दोर्दी करिडोरमा ५४ मेगावाट बिजुली खेर जाने गरेको उनले उल्लेख गरे। उनका अनुसार मोदी करिडोरमा २५ मेगावाट बिजुली खेर जाने गरेको छ।
'प्रसारण समयमा बन्न नसक्दा उत्पादित सबै बिजुली उपभोगमा लैजान सकिएको छैन। अहिले बनिरहेको छ। प्रसारण लाइन तयार भएपछि यो समस्या हल भइहाल्छ। योभन्दा बढी बिजुली कतै खेर गएको छैन,' उनले दाबी गरे।
कहिलेकाँही तार चुँडिने, ट्रान्समिटरमा आउने खराबीलगायत सिस्टममा समस्या आउँदा बिजुली खेर जाने उनले बताए।
प्राधिकरणले आपूर्ति प्रणालीमा समस्या भएका कारण बिजुली खेर गइरहेको बताउँदै आएको छ। अहिले पूर्व पश्चिममा १३२ केभीदेखि २२० केभी क्षमताको प्रसारण लाइन छ। ४०० केभीको लाइन सञ्चालनमा आउन नसक्दा बिजुली आपूर्तिमा समस्या भइरहेको तर्क प्राधिकरणले दिँदै आएको छ।
विभिन्न जिल्लामा वनको क्लियरेन्स (रूख कटान अनुमति) का कारण प्रसारण लाइन निर्माणमा ढिलाइ भएको प्राधिकरणले बताएको छ।
२२० केभीको भरतपुर–बर्दघाटको लाइन रूख कटानकै कारण निर्माणमा ढिलासुस्ती देखिएको उल्लेख गरेको छ। हाल यो लाइनको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
बर्दघाटदेखि न्यू–बुटवलसम्मको २२० केभी लाइनमा २०७६ सालमै वन क्लियरेन्सका लागि स्वीकृत भएको थियो। तर आदेश भर्खरै पाएकाले बन्न ढिलाई भएको उल्लेख गरिएको छ। मर्स्याङ्दी करिडोर २२० केभीको लाइन निर्माण पनि रूख कटान अनुमति नपाउँदा अघि बढ्न सकेको छैन।