सरकारले ६ महिनाको उपलब्धी सार्वजनिक गर्दै राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गअन्तर्गत ९० किलोमिटर सडक कालोपत्रे भएको र थप ८ पुलको निर्माण सम्पन्न भएको बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन भएयताको ६ महिने उपब्लधी सार्वजनिक गरेका हुन्।
‘हुलाकी राजमार्ग अन्तर्गत ७९.५ किलोमिटर सडक कालोपत्रे भएको र ७ वटा पुल निर्माण भएको छ,’ उपलब्धीमा भनिएको छ, ‘कालीगण्डकी कोरिडोरमा थप ४१.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। र, थप ४ वटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको। बिपि राजमार्गमा २१.५ किलोमिटर सडक अस्फाल्ट गर्ने कार्य सम्पन्न भएको छ।’
काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा पन्ध्र सदस्यीय समिति गठन भई कार्य भइरहेको प्रधानमन्त्रीले बताएका छन्। सो आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने निर्णय भएको पनि बताइएको छ।
आयोजनाअन्तर्गत जेठ मसान्तसम्म महादेवटार सुरूङटारमध्ये ३ किलोमिटर ३५५ मिटर लम्बाइमध्ये १००० मिटर, धे्रद्रे सुरूङमार्गको १ किलोमिट ६३० मिटर मध्ये ४०७ मिटर खनिएको बताइएको छ।
त्यस्तै लेनडाँडा सुरूङमार्गको १ किलोमिटर ४३० मिटर मध्ये ४१६ मिटर खनिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति २३.४५ प्रतिशत रहेको बताइएको छ।
यता बूढीगण्डकी जलविद्युत आयोजनामा फागुन मसान्तसम्म २३ प्रतिशत भौतिक र २२.२७ वित्तीय प्रगति भएको देखाइएको छ। गोरखा, धादिङ जिल्लातर्फ ४ हजार २०१ भौतिक संरचना र १ लाख १० हजार २४३ बोटविरूवाको क्षतिपूर्ति १ अर्ब ११ करोड वितरण गरिएको बताइएको छ।
दुवै जिल्लाको १०४.१६ रोपनी जग्गाको १० करोड ८७ लाख क्षतिपूर्ति दिइएको पनि उपलब्धीमा उल्लेख छ।