वर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माण सुरू भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो।
पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनर्निर्माण थालिएको छ। मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए।
सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए। त्यहाँ पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए।
'बेलिब्रिज निर्माणका सामग्रीहरू निर्माण स्थलमा पुगिसकेका छन्' पोखरेलले भने, 'केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुरू गर्छौं।'