नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् माग र खपतमा देखिने अस्थिरताका कारण पटक-पटक विद्युत् आपूर्ति कटौती भएको बताएका छन्।
आइतबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा घिसिङले यस्तो बताएका हुन्।
विशेषगरी, तराईमा बढेको गर्मी त्यही क्षेत्रमा फलाम उद्योग रहेकाले विद्युतको माग बढेको भएपनि अस्थिर रहेको उनले बताए।
‘अहिले तराईमा एसी, फ्यान प्रयोग बढेको छ। आइरन उद्योगहरूमा भोल्टेज घटबढ हुने गरेको छ,’ घिसिङले भने,‘ कोहलपुर, बुटवल, विरगंज जहाँ आइरन उद्योग छ त्यहाँ कहिले एक दुई मिनेटमै २० देखि ३० मेगावाट थप हुने र कहिले कम हुने भइरहेको छ।’
भोल्टेज घटबढ हुँदा कालीगण्डकी लगायतका धेरै पावरप्लान्ट ट्रिप (प्रणालीमा नपुग्ने वा कटौती) हुने गरेको उनले बताए। प्रसारण लाइनमा कमिले पनि यस्तो समस्या आएको उनले बताए।
अहिले मुलुकको कुल विद्युत् उत्पादन क्षमता २७ सय मेगावाट छ। यहाँ पुर्व पश्चिममा १ सय ३२ केभीको लाइन छ। केही स्थानमा २ सय २० केभी लाइन छ। क्रसबोर्डरमा ढल्केबर देखि मुजफरसम्मको ४ सय केभीको लाइन छ। पुर्व पश्चिमको ४ सय केभीको लाइन भने सञ्चालनमा आएको छैन।
हेटौंडादेखि भरतपुर र भरतपुर देखि बर्दघाटसम्मको २२० केभीको लाइन निर्माण सम्पन्न हुने क्रममा रहेपनि तर सञ्चालनमा आइसकेको छैन। त्यसैले धेरै स्थानमा ओभरलोडिङ भइरहेको घिसिङले बताए।
अहिले विद्युत् प्रणालीमा स्थिरता ल्याउने काम भइरहेकोले यो समस्याकम हुँदै जाने समेत दाबी गरे।