स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन्।
इप्पानको २१ औं साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले 'नेपालको पानी, समृद्धिको खानी' भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि बताए।
'अनेकौ बाधा व्यवधानका बाबजुद देश उज्यालो बनाउनका लागि ऊर्जामा लगानी गर्ने निजी क्षेत्रका साथीहरूप्रति आभारी छु,' आचार्यले भने।
जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकोले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यले बताए।
'पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ। कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो। नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ। हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ,' उनले थपे।
नेपालको विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा, ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन, ११ हजार मेगावाट क्षमताका आयोजना पिपिएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको आचार्यले बताए।
आजका दिनमा खपत बढाउन निकै चुनौती रहेको उनको तर्क छ। औद्योगिक, सिंचाई, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनु पर्नेमा उनको जोड छ।
विद्युत उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए।
'एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरू आज १०० मेगावाटको आयोजना बनाइरहेका छन्। अब निजी क्षेत्रले जत्रो आयोजना पनि बनाउन सक्छ। सरकारले सहयोग गरिदिनु पर्यो,' उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण यो पटक ऊर्जा केन्द्रित भएको पनि आचार्यले बताए। 'विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे। यसपटक आर्थिक मुद्दामा केन्द्रीत भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रीत नै भयो। यो ऊर्जा उद्यमीको लागि खुशीको कुरा हो,' उनले भने।
'भारतमा १० हजार मेगावाट विद्युत निर्यातको समझदारी भएको छ। तर, यो सफल होला र? भन्ने पनि प्रश्न उठेको पाइन्छ। हामी सकारात्मक छौं। हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए। आज ४०० मेगावाट गइरहेको छ। त्यसैले १० हजार मेगावाट विद्युत पनि निर्यात हुनेछ,' उनले भने।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि तयार रहन आग्रह गरे।
मन्त्री बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमण एउटा ब्रेक थ्रु भएको भन्दै अहिले परिस्थिती धेरै परिवर्तन भइसकेको बताए। 'न भारत हिजोको ठाउँमा छ, न नेपाल हिजोको जस्तो छ,' उनले भने।
१० हजार मेगावाट बिजुली भारतले लैजाने विषय सम्भव भएको पनि उनले दाबी गरे।