विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत आयोजनालाई हकप्रद शेयर जारी गर्न अनुमति दिएपछि ५ मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरू गरेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१औं साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष सिंहले हकप्रदको अनुमति दिँदा राम्रो भएको बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि निकै ठूलो उपलब्धी भएको सिंहले बताए।
'हिजो ५० मेगावाट बिजुली किनिदिनुस् भन्ने अवस्था थियो। दुई सय मेगावाट किन्दा पनि दंग पर्थ्यौ। अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो। यो निकै ठूलो उपलब्धी हो,' उनले भने।
बंगलादेशसँग विद्युत व्यापारका लागि नेपाल र बंगलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारण लाइन आफैँ बनाउनु पर्नेमा उनको जोड छ।
प्राइभेट सेक्टरको रफ्तार रनवेबाट टेकअफ गरेको र अब यसको उडान निकै टाढासम्म हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
निजी क्षेत्रले विद्युत व्यापार गर्ने कुरा आउँदा प्रसारण लाइनको कुरा आउँछ। तर ग्रीड कोड सम्बन्धी निर्देशिका बनाएको ४ महिनासम्म पनि सुझाव नआएको उनको भनाइ छ। अब इप्पानले सुझाव दिएर यसलाई अन्तिम रुपदिन सहयोग गर्न पनि उनले आग्रह गरे।
नेपालमा विद्युत उत्पादन बढ्दै गए पनि यसको लागत बढ्दा उत्पादन पनि महँगिएको छ। तर अब उत्पादन लागत पनि घटाउँदै जानुपर्ने उनले बताए।
त्यसका लागि विदेशमा रहेका पेन्सन फण्डको पैसा ल्याएर जलविद्युतमा लगानी गर्न सके उत्पादन सस्तो हुने पनि उनको सुझाव छ। त्यस्ता फण्डको पैसा सस्तो ब्याजदरमा चलाउन पाइने उल्लेख छ।