स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
जेठ ३२ गते मतदान गर्ने कार्यतालिका रहे पनि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की अध्यक्ष चुनिएका हुन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारीको पनि उम्मेदवारी परेको थियो। उनको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि डाँगी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। इप्पान संशोधित विधानअनुसार उनी अर्को कार्यकालको स्वत: अध्यक्ष बन्ने भएका छन्।
त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परे पनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्।
५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन्।
उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो। उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन्।
त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन्।
सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन्।
३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन्।
७ जना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन्।
मल्लको रिट खारेज
इप्पान आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै किरण मल्लले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन खारेज भएको छ।
अध्यक्षका प्रत्यासी मल्लले उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।
निर्वाचन समितिले मल्लको उम्मेदवारी दर्ता भएको प्रमाण उच्च अदालतलाई दिएसँगै उनको रिटमा निर्वाचन रोक्न माग गर्दै मागिएको अन्तरिम आदेश दिन नपर्ने फैसला भएको इप्पान सचिवालयले जनाएको छ।
यसँगै इप्पानको नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया नरोकिने भएको छ।