विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ।
रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ।
तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन।
बथनाह - कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ। बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।
बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।
आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन। उद्योगी सुयष प्याकुरेलका अनुसार रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए ।
आफुहरुले लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको उनले बताए। उनका अनुसार विराटनगरस्थित रेल्वे यार्डमा पहिलो पटक कार्गो रेल आउन लागेको हो ।
प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी÷व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए ।
कार्गो रेल नियमित सन्चालन हुँदा सञ्चालन हुँदा आफूहरुलाई ढुवानी वापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्ने उद्योगीले बताउँदै आएका छन।