हरेक वर्षको बजेटमा उल्लेख हुँदै आएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको विराटनगरका दुई आयोजनालाई यसपटक पनि सरकारले बजेटको प्राथमिकतामा राखेको छ।
विराटनगरमा क्रिकेट मैदान बनाउने र विमानस्थलको स्तरोन्नतिको मुद्दा यसपटक पनि बजेटले समेटेको छ।
विराटनगरस्थित गिरिजाप्रसाद क्रिकेट रंगशालाको काम पनि अघि बढाइने अर्थमन्त्री प्रकाशरशण महतले घोषणा गरेका छन्।
यसैगरी प्रदेशको राजधानी विराटनगरमा अवस्थित विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने भएको छ।
यो विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन जनस्तरबाट विगत लामो समयदेखि माग हुँदै आएको थियो।
यसअघि जग्गा अधिग्रहणको कार्य अघि बढाउन सुरू गरिएको प्रक्रियाबाट सरकार पछि हटेर रोक्का भएको जग्गा फुकुवा गरिदिएको थियो। विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको कार्य भने जारी छ।
यस्तै तमोर करिडोर निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ।
कटारी–घुर्मी सडक, तमोर करिडोर, ओलाङ्चुङगोलासम्म सडक निर्माणको लागि बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा अर्थमन्त्रीले भनेका छन्।
यसपटकको बजेटमा कोसी करिडोरको लागि ८० करोड रूपैयाँ विनियोजन भएको छ।
पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने कार्यलाई तीव्रता दिन झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडकखण्डको स्तरोन्नति गरिने भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथर खण्डको सडक निर्माण गरिने अर्थमन्त्रीले महतले जनाएका छन्।
यसैगरी मदन भण्डारी सडक अन्तर्गत इलाम सुनसरी खण्डको सडक निर्माणसमेत अघि बढाइने भएको छ।