४८ वर्षदेखि समस्याग्रस्त जडिबुटी–कोटेश्वर–तीनकुने सडक निर्माणको समस्या सुल्झाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल सुरू गरेका छन्।
जडिबुटी, कोटेश्वर तीनकुने सडक खण्डमा दैनिक लाखौं मानिस आवत–जावत गर्ने गर्छन्।
बिहान र साँझको समयमा अत्याधिक जामले नागरिकलाई सास्ती दिँदै आएको छ। यो समस्या सुल्झाउन सरकारले ४८ वर्ष अघिदेखि पहल थालेको थियो।
तर सफल हुन सकेको छैन। दैनिक लाखौं नागरिकले सास्ती पाउनुको प्रमुख कारण हो 'मुआब्जा समस्या'।
२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो।
सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तार हुन सकेको थिएन।
करिब पाँच दशक लामो समस्या सुल्झाउन मन्त्री ज्वालाले आइतबारदेखि पहल सुरू गरेका छन्। सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरूसँग सिंहदरवारमा छलफल गरेका छन्।
'कुनैपनि देशको अवस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ। तर अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदै गर्दा जामको तातिले हाम्रो सडक र यातायातको चित्र देखाउँछ,' मन्त्री ज्वालाले भने, 'यो समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि चासो देखाउनुभएको छ। अब रमिते भएर दैनिक लाखौं नागरिकको समस्या हेरिरहन सक्दैनौं।'
छलफलमा मन्त्री ज्वाला, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुली लगायतको सहभागिता थियो।
जडिबुटी, कोटेश्वर, तीनकुने सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्ति नै तोकेका छन्। सरोकारवाला निकायसँग समन्वय गर्न र आवश्यक पहल गर्न सडक विभागका उपमहानिर्देशक बिजय जैसीलाई समन्वय व्यक्ति तोकिएको हो।
छलफल कार्यक्रममा सोही क्षेत्रका वडा अध्यक्ष नवराज पराजुलीले ४८ वर्ष लामो समस्या समाधानका लागि आफूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।