नेपालले फेरि भारतमा बिजुली निर्यात सुरू गरेको छ।
शनिबार छ सय मेगावाट आवर (२५ मेगावाट) बिजुली भारतमा बिक्री गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।
वर्षाका कारण धेरै बिजुली उत्पादन भएकाले निर्यात गरिएको उनले बताए।
प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो।
'आज फेरि निर्यात गरिएको छैन। भोलिका लागि एक हजार मेगावाट आवर बिजुली खरिद गर्ने क्रममा छौं,' भट्टराईले भने, 'उत्पादन धेरै भएको अवस्थामा मात्रै निर्यात गर्न सकिन्छ।'
नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो। अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो।
हिउँदमा नेपालका नदीहरूमा पानीको मात्रा घटेर उत्पादन कम भएपछि भारतमा बिजुली बेच्न सकिएको थिएन। बरू भारतबाट दैनिक ४ सय मेगावाट बढी बिजुली किन्नु परेको थियो।