कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरूङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ। समयमै अध्ययन नहुँदा आयोजना निर्माण धकेलिँदै गएको छ। धेरै समयअघि घोषणा भएका सुरूङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ।
सडक विभागले हेम्जा–नयाँपुल सुरूङ मार्गको चार वर्षपहिले नै प्रारम्भिक अध्ययन थालेको थियो। तर यसको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ। पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरूङ मार्ग बनेमा डेढ घन्टाको सडकमार्ग १५ मिनेटमा छोटिनेछ। अहिले हेम्जा–नयाँपुलको दुरी ४० किलोमिटर छ।
सुरूङ मार्गले त्यसलाई सातदेखि आठ किलोमिटरमा घटाउने अनुमान गरिएको छ। यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ। पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले सरकार सुरूङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताए।
'यो सुरूङ मार्ग बनाउनुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो। अध्ययनका लागि बजेट पनि छुट्टिने गरेको छ। तर आयोजनामा खासै प्रगति भएको देखिँदैन,' उनले भने, 'गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा यो सुरूङ मार्ग कोशेढुंगा बन्छ, यसलाई अगाडि बढाउनुपर्छ।'
चीन जोड्ने कालीगण्डकी करिडोरसमेत यस क्षेत्रमा पर्ने हुँदा सुरूङ मार्गले अन्तरदेशीय पारवहन र पर्यटनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष अधिकारीले बताए।
सुरूङ मार्गबाट नयाँपुलमा जोडिएपछि पर्वतको सदरमुकाम कुश्मा हुँदै जाने लोकमार्ग बागलुङ–पर्वतको सीमास्थल मालढुंगामा करिडोर काटेर पश्चिम लाग्छ। दक्षिणबाट गुल्मी हुँदै आएको कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै उत्तर कोरोला नाका जोडिन्छ।
सडक विभागका सुरूङ मार्ग हेर्ने इञ्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरूङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरू हुने जानकारी दिइन्।
'पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ। अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छ,' उनले भनिन्, 'अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुपर्यो। सुरूङ मार्ग निर्माण कहिले र कसरी सुरू हुन्छ यसै भन्न सकिँदैन।'
उक्त सुरूङ मार्ग अध्ययनका लागि सरकारले चालु आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेट छुट्टयाइएको थियो। सुरूङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट गरिसकेको विभागले जनाएको छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराका प्रमुख ललिजन खनालले सुरूङ मार्गबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत सुरूङ मार्ग अध्ययनको काम हुँदै आएको छ। लोकमार्ग अन्तर्गत बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरूङ मार्गको त प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन। सरकारले गत वर्ष नै उक्त सुरूङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षमा उक्त सुरूङ मार्गका लागि ५० लाख रूपैयाँ बजेट छुट्टयाएको थियो। बिहुँ–नरेठाँटी सुरूङ मार्ग आयोजनाबारे बेलाबेला चर्चा चल्ने गरे पनि पहिलोपटक बजेटमा समेटिएको थियो। तर आर्थिक वर्ष सकिनै लाग्दा पनि आयोजना अध्ययनको काम सुरू हुन सकेको छैन।
बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले बताए।
'रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो। तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ,' उनले भने, 'यसमा हामीले पनि सुरूदेखि नै पहल गरिरहेका छौं।'
सांसद पौडेलले उक्त सुरूङ मार्ग निर्माण हुन सके मध्यपहाडी लोक मार्ग भएर यात्रा गर्ने कैयन जिल्लाका सर्वसाधारणदेखि पर्यटकसम्मलाई लाभ पुग्ने बताए। काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरूङ मार्गले लोकमार्गमा घन्टौं लाग्ने यात्रालाई केही मिनेटमै सीमित गर्नेछ।
गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बजेटमै पर्दा पनि सुरूङ मार्गको काम अघि नबढ्नु दुःखद भएको उल्लेख गरे। उनका अनुसार केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरूङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन भने गरेका थिए।
'एकपटक ठाउँ हेर्ने काम भएको थियो। त्यति बेला केही आशा पलाएको थियो। त्यसपछि फर्केर कोही आएका छैनन्,' अध्यक्ष भण्डारीले भने, 'अध्ययनसमेत हुन नपाई आयोजना सुस्ताउने स्थिति देखिएको छ।'
उक्त सुरूङ मार्गले यातायातसँगै त्यस क्षेत्रको आर्थिक/सामाजिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरूङ मार्ग निर्माणको नीति लिएको छ। चालु आर्थिक वर्षमा २४ वटा सुरूङ मार्ग आयोजनाका लागि सरकारले एक अर्ब १९ करोड ६० लाख रूपैयाँ बजेट छुट्टयाएको थियो। सडक विभागले 'सुरूङ मार्ग विकास कार्यक्रम' मार्फत सुरूङ मार्गको निर्माण र अध्ययनलाई अगाडि बढाएको छ।