१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पुगेको छ।
यो आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन र वडा दुई टिमुरेको सिमाना हुँदै बग्ने भोटेकोशी नदीको पानी प्रयोग गरी निर्माण भइरहेको छ।
आयोजना तीन लटमा विभाजन गरी काम भइरहेको आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपानेले जानकारी दिए।
यो आयोजनाबाट २०८० असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।
आयोजनाको संसोधित कूल लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब एक करोड हुने देखिएको छ। ब्याज रकम समेत कुल २१ अर्ब १५ करोड ३२ लाख ६७ हजार रुपैयाँ हुने देखिएको छ।
आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याज रकमबाहेक १५ करोड ३२ लाख ४३ हजार र निर्माण अवधिको ब्याज रकमसमेत १९ करोड पाँच लाख ७० हजार हुने देखिएको छ।
यसबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत शक्ति उत्पादन हुने उल्लेख छ। कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड आम्दानी प्राप्त हुने अनुमान छ।
यस आयोजनामा २०७९ चैत मसान्तसम्म १५ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।