सरकारले आगामी दुई वर्षभित्र ऊर्जालाई सबै नागरिकको पहुँचमा पुर्याउने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दुई वर्षभित्र सबै नागरिककहाँ विद्युत पुर्याउने बताएका हुन्।
‘विपन्न वर्गलाई निःशुल्क विद्यतीय मिटर उपलब्ध गराइने छ। वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युट खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने छ,’ उनले भने।
खाना पकाउने ग्यासलाई विद्युतले प्रतिस्थापन गर्ने पनि उनले बताए। सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य रहेको पनि राष्ट्रपति पौडेलले नीति कार्यक्रममार्फत् जानकारी दिए।
‘खनिज ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले विस्थापन गरिने छ। हाइड्रोजन इन्धनको उत्पादन र उपयोगको सम्भाव्यता खोजिने छ। ऊर्जा मिश्रणनीति तय गरिने छ। ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ। विद्युत उत्पादन र प्रशारणलाई सामञ्जस्यता कायम गरिने छ,’ राष्ट्रपतिले भने।