नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक १२ सय मेगावाट बिजुली निर्यातको तयारी गरिएको बताएका छन्।
आगामी जेठको पहिलो सातादेखि निर्यात सुरू गरिने उनले बताए।
'पिक आवरमा १२ सय मेगावाट बिजुली निर्यात गर्न सकिन्छ भन्ने हो। त्यहीअनुसार हामीले काम गरिरहेका छौं,' उनले भने।
यो पटक सुख्खा सिजनमा बिजुली उत्पादन निकै कम भएको र माग पनि बढेको उनले बताए।
'हामी कुल जडित क्षमता २८०० मेगावाट पुग्ने अवस्थामा छौं। तर यो सिजनमा उत्पादन निकै घटेको छ। बिहान र बेलुकाको पिक आवरमा बिजुली पुर्याउन सकिएको छैन,' उनले भने।
वर्षातको समयमा भने उत्पादित बिजुली कसरी उपभोग गर्ने भन्ने चिन्ता थपिने उनले बताए।
पछिल्लो समय उद्योग क्षेत्रमा देखिएको समस्या सामान्य भएको पनि उनले बताए। 'बिजुलीको समस्या लामो समयका लागि होइन। बरू अब उपभोग कसरी बढाउने भन्ने चिन्ता हो,' उनले भने।