प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्माणाधीन काठमाडौं–तराई/मधेस फास्ट-ट्र्याक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण भ्रमण गरेका छन्।
मंगलबार प्रधानमन्त्री दाहालले महादेवटार सुरूङ र लेनडाँडा सुरूङ मार्ग तथा निर्माणाधीन सडक तथा पुलको निरीक्षण गरेका हुन्।
उनले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक परिमार्जनसहित उच्च गुणस्तरको निर्माण कार्य सम्पन्न गर्न विद्यमान सम्पूर्ण समस्याको समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
आयोजनाको हालसम्मको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै उनले आयोजनाको कार्यान्वयनमा संलग्न सकलदर्जालाई धन्यवाद ज्ञापन गरे। प्रधानमन्त्री दाहालले उच्च हौसलाका साथ राष्ट्रिय गौरवको यस आयोजनालाई सम्पन्न गरी राष्ट्र विकासको प्रयासमा कोसेढुंगा थप गर्न सम्बन्धित सबैलाई आह्वान पनि गरे।
यसअघि उनलाई आयोजनाको वर्तमान अवस्था र प्रगतिबारेमा जानकारी गराइएको थियो।
प्रधानमन्त्री दाहालसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए।
२०७८ जेठ २ गते ठेक्का सम्झौता सम्पन्न भई निर्माण सुरू भएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति २२.४४ प्रतिशत र वित्तीय प्रगति करिब २३ प्रतिशत छ। ठेक्का सम्झौता हुन बाँकी खण्डको चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता गरिसक्ने ढङ्गंगले आवश्यक तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजना कार्यान्वयन अघि बढाउने क्रममा सरकारबाट प्राप्त सहयोग एवं नेपाली सेनामाथिको भरोसाका लागि आभार प्रकट गरे। उनले जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्यांकनको बाँकी कार्य लगायतका चुनौतीको सम्बोधन हुने अवधिले समग्र आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्ने भएकाले त्यसमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताए।
सबै तस्बिर सौजन्यः नेपाली सेना