कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सरकारले गत मंगलबारदेखि लकडाउन गरेको छ।
अधिकांश मानिस घरभित्रै बसिरहेको समयमा औषधि उत्पादक भने यतिबेला उत्पादन बढाउनमा व्यस्त छन्।
कतै महामारी फैलिएर औषधिमा संकट आउने त होइन भन्ने त्रास उनीहरूमा छ।
यो समय आफूहरूका लागि निकै चुनौतीपूर्ण रहेको औषधि उत्पादक बताउँछन्।
तर, औषधिलाई अभाव हुन नदिन चुनौतीको बाबजुद उत्पादन वृद्धिमा जोड दिइरहेको औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारीको दाबी छ।
उनले सरकारसँग पनि तत्काल आवश्यक पर्नसक्ने वस्तु, औषधि खरिद प्रक्रियालगायतका विषयमा छलफल गरिरहेको बताए।
‘लकडाउनले औषधि विक्री वितरण र रोकिएका कच्चा पदार्थ कसरी ल्याउने भन्ने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भइरहेको छ’, उनले भने, ‘लामो प्रयास, भारतीय पक्षसँगको छलफल र मन्त्रालयको सहयोगले भारतीय भन्सारमा रोकिएको सामान निकाल्न सकिने विश्वास बढेको छ।’
अहिले दूरी मेन्टेन गर्नुपर्ने लगायत कुरामा ध्यान दिनुपर्ने हुँदा रातिको समय प्रयोग गर्ने हो कि! भन्ने विषयमा पनि कुराकानी भइरहेको उनी बताउँछन्।
‘कर्मचारीलाई फ्याक्ट्रीसम्म आउन समस्या छ, रोगको संक्रमण होला कि! भन्ने त्रास सबैलाई हुन्छ। तर, यस्ता चुनौतीलाई सामाना गर्दै हामी भोलिका दिनमा धेरै बिरामी निस्किए पनि धान्न सक्ने औषधि बनाउन लागिपरेका र्छौं’, उनले भने।
यता लोमश फर्मास्युटिकल्सका निर्देशक प्रज्जवलजंग पाण्डे पनि औषधि उत्पादनमै व्यस्त रहेको बताउँछन्।
‘यो महामारीका कारण औषधिको संकट आउन नदिनु हाम्रो मुख्य उद्देश्य हो। औषधि मानिसको स्वास्थ्यसँग जोडिने अत्यावश्यक कुरा भएकाले सबै औषधि उत्पादकलाई उत्पादनको लागि पहल गरिरहेका छौं,’ उनले भने।
लकडाउनको समयमा कसरी काम गरिरहनु भएको छ? भन्ने प्रश्नमा उनी भन्छन् ‘कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर काम अघि बढाइरहेका छौं। औषधिमा कमी नआओस् भनेर सबै उद्योगी समन्वयन गरेर काम गरिरहेका छौ।’
स्टकका रूपमा औषधि उत्पादन गरेर राखेको निर्देशक पाण्डले बताए।
आवश्यक परेमा सरकारसँग सहकार्य गरेर राष्ट्रिय रूपमा काम गर्ने प्रतिवद्धता उनले गरे।
‘कोरोनाका कारण उद्योगमा काम गर्न टाढाबाट कर्मचारी आउन समस्या भइरहेको छ। बस सबै ठाउँमा जाँदा संक्रमण हुने संभावना बढी हुने भयो। त्यसैले लोकल कामदार मात्रै खटिनुपर्ने हुँदा पहिलाजस्तो ‘फुल क्यापासिटी’मा काम हुन सकिरहेको छैन’ उनले भने।
सरकारले औषधि उद्योगको परिचय पत्रले काम चल्छ भने पनि त्यसले काम नगरेको बताउँछन् उनी।
‘सरकारको निर्णअनुसार औषधि उद्योगको परिचयपत्रले काम चल्छ भनिएको छ। तर, त्यो ‘प्राक्टिकल्ली’ लागू हुनसकेको छैन। जसले गर्दा फ्याक्ट्री आवात/जावातमा गाह्रो भइरहेको छ र उत्पादनमा ह्रास आएको छ,’ उनले भने, ‘तर, औषधिको कृत्रिम अभाव नहोस् भनेर हामी चुनौतीलाई सामना गरेर निरन्तरता दिइरहेका छौं।
उनले भने कृत्रिम कालोबजारी नहोस् भनेर नै उचित मूल्यमा नै औषधि विक्री/वितरण गरिरहेका छौं।’
कच्चापदार्थ अत्यन्तै आवश्यक भएकाले सरकराले यसमा सहजता गरेको पाण्डेले बताए।
‘सरकारले अत्यावश्यक सामानमा अवरोध गरेको छैन, त्यसैले अहिलेसम्म कच्चापदार्थमा समस्या छैन’, उनले भने।
औषधि उत्पादक संघका पूर्वाध्यक्ष दीपक प्रसाद दाहाल यो समयमा झनै जिम्मेवारी बढेको बताउँछन्।
औषधि कति चाहिन्छ, के चाहिन्छ लगायतका विषयमा अध्ययन गरेर सरकारलाई भनिसकेको उनले बताए।
उनले तीन/चार महिनालाई धान्न सक्ने औषधि स्टक रहेको जानकारी दिए।
‘अहिले सरकारले चीनबाट सामान ल्याउने नाका पनि खोलिसकेको छ। सामान पाइरहेको अवस्थामा फटाफट काम गर्यौं भने भोलिका दिनमा समस्या आउँदैन’, उनले आफ्नो भनाइ राखे।
‘हाम्रो पुरानो शैली सामान आइहाल्छ भनेर सकिन लागेपछि सोच्ने चलन छ, त्यो शैली परिवर्तन गरेर नयाँ ढंगबाट सोच्नुपर्छ’, उनी थप्छन्।
दाहालले पनि उद्योगमा कामदार घटाएर ‘डिस्टेन्स मेन्टेन’ गरेर काम गरिरहेको बताए। औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री औषधि उत्पादन क्षमता वृद्धि गर्न सबै औषधि उद्योगलाई आह्वान गरिसकेको बताउँछन्।
सरकारले पनि उद्योगलाई कुनै रोकतोक नगरी काम गर्न सहज बनाएको उनले बताए। ‘दुई/तीन महिनालाई त गाह्रो छैन। तर, यही अवस्था लम्बिए गाह्रो हुने अवस्था छ’, क्षेत्रीले भने।
हाल नेपालमा ६२ औषधि उद्योग सञ्चालनमा र ४१ वटाले औषधि व्यवस्था विभागबाट नयाँ उद्योगको अनुमति लिइसकेको एपोनका पूर्वाध्यक्ष दहालले जानकारी दिए।
यी उद्योगले बनावटका आधारमा ट्याबलेट, पाउडर, क्याप्सुल्स, स्मल भोलुम, लार्ज भोलुम, प्यारेन्टल, आइन्टमेन्ट्स, क्रिम, जेल, ओरल लिक्विड, एक्सर्टनल लिक्विडलगायतका औषधि बनाउँछन्।
नेपाल औषधिमा ७० प्रतिशत आत्मनिर्भर भइसकेको दाहालको भनाइ छ।
नेपालमा उत्पादन हुने केही औषधि
१. कार्डियोभास्कुलर ओरल रेन्ज
२. डाइबेटिक ओरल रेन्ज
३. लो भोलुम एन्ड लार्ज भोलुम प्यारेन्टल
४. एन्जिबायोटिक्स पेनिसिलिन
५. सेफालोसपोरिन रेन्ज
६. ग्यास्ट्रो इन्टेस्नल
७. एन्टासिड
८. अर्थोपेडिक रेन्ज
९. भिटामिन एन्ड मिनेरल इन फिक्स् डोज कम्बिनेसन
१०. रेसपिरेटोरी ट्रयाक्ट ओरल रेन्ज
११. ओरल रेहिड्रेसन सोलुसन
१२. जेनेकोलोजी
१३. हर्मोनका औषधि
नेपालमा १२ सयभन्दा बढी रेन्जका औषधि बन्ने लोमशका निर्देशक पाण्डले जानकारी दिए।
उनकाअनुसार माथि उल्लेखित औषधिबाहेक नेपालमा उत्पादन भएको एन्टिक्यान्सर औषधि पनि बनिरहेका छन्।
नेपाल आत्मनिर्भर भइसकेका औषधि
१. एल्बेन्डाजोल
२. एमोक्सिलिन
३. एजिथ्रोमाइसिन
४. ट्रिमेथोरपिम
५. मेट्रोनिडाजोल
६. एन्टासिड
७. ओम्निप्राजोल
८. पेन्टाप्राजोल
९. रेनिटिडिन
१०. भिटामिन
११. प्यारासिटामोल
१२. कफसिरफ
१३. इन्जाइम
१४. राइड्रेसन
१५. आइबुप्रोफेन
१६. सेट्रिजिन
१७. इन्डोमेथासिन
१९. डिक्लोफेन्याक
२०. टिनिडाजोल
२१. अल्बेन्डाजोल, भेट
२२. अक्सिक्लोनाजाइड, भेट
२३. लेभामिसोल, भेट
२४. प्यारासिटामोल, भेट
२५. अक्सिटेट्रयासाइक्लिन, भेट
२६. कालामाइन लोसन
२७. क्याल्सियम कार्बोनेट
२८. जेन्सन भोइलेट
२९. निमेसुलिड
३०. ट्रामाडोल
३१. साइप्रोहेप्टाडिन