‘सुई’ भन्नेवित्तिकै एक वर्षमुनिकालाई मात्रै लगाइन्छ भन्ने भ्रम छ। तर विभिन्न रोगविरुद्धका सुई सबै उमेरकालाई लगाइन्छ भन्ने कमैलाई थाहा होला।
कतिपय मुलुकमा केटाकेटीका लागि मात्रै होइन, युवा, वयस्क र बुढापाकालाई पनि करिब १२ किसिमका खोप अनिवार्य गरिएको छ।
स्वास्थ्यअनुसार भ्याक्सिन तीन प्रकारमा विभाजन गरिएको इन्टरनिस्ट डा. महेश दाहालले बताए।
पहिलो, स–साना नानीबाबुलाई लगाइने भ्याक्सिन। १४/१५ महिनाका हुँदासम्म लगाइने १२ खोप सरकारले निःशूल्क गरेको छ। यी खोपले १३ वटा विभिन्न रोग लाग्नबाट बचाउँछ। जस्तैः बिसिजी, डिपिटी, पिसिभी, जापनिज इन्सफलाइटिस
दोस्रो ‘ट्राभल भ्याक्सिन’, जुन कुनै देश जाँदा लगाउनै पर्ने। जस्तै कोही अफ्रिकातिर जाँदैछ भने ‘यल्लो फिभर’को भ्याक्सिन लगाउनैपर्छ। कुनै व्यक्ति अमेरिका जाँदैछ भने एमएमआर, चिकेन पक्स, टिभीको जाँच अनिवार्य गराउन सल्लाह दिइन्छ।
कुन देशमा कस्ता रोग प्रकोप बढी छ, सोही देशले नै भ्याक्सिन लगाएर आउन सुझाउने डा. दाहालले प्रष्टाए। वृद्धवृद्धा विदेश जाँदैछन् भने उनीहरुलाई पनि उक्त भ्याक्सिन लगाउनुपर्छ।
तेस्रो, ६० वर्षमाथिकाले लगाउने भ्याक्सिन। यो उमेरका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ र धेरै रोगले आक्रमण गर्नसक्ने भएकाले उक्त खोप लगाउनु पर्ने डा. दाहाल बताउँछन्।
‘सबै किसिमको भ्याक्सिन लगाउनुपर्छ भन्ने होइन। आफूलाई कुन समस्याले सताउँछ त्यसमा अगाडि नै सचेत हुनुपर्छ। जुन रोगबाट मृत्यु सम्भावना धेरै हुन्छ, त्यसको भ्याक्सिन लगाइहाल्नुपर्छ,’ उनले भने।
निमोनियाविरुद्ध खोप लगाउँदा ५० प्रतिशत जोखिम कम
निमोनिया, फ्लु, जनैखटिरा, टिडिएपी, हेपाटाइटिस बी लगायत खोप लगाएर वृद्धवृद्धाको ज्यान जोगाउन सकिन्छ।
५०–६० वर्ष नाघेकालाई पनि खोप आवश्यक हुन्छ भन्ने थाहा हुँदैन। यहीकारण पनि बच्न सक्ने ज्यान पनि गुमाउने धेरै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताए।
उनकाअनुसार भ्याक्सिनले संक्रामक रोगबाट शिशुलाई जस्तै बूढापाकालाई पनि सुरक्षा दिन्छ।
सोहीकारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), एडभाइजरी कमिटी अन इम्युनाइजेसन प्राक्टिस (एसिआइपी) लगायतले वृद्धवृद्धाका लागि समेत खोपको निर्देशन जारी गरेका छन्।
पछिल्लो समय खोप लगाउने ६० वर्षमाथिकाको संख्या बढ्दै गए पनि अधिकांशलाई निमोनिया, फ्लु भ्याक्सिनबारे थाहा नभएको डा. पुन बताउँछन्।
मुटु, रक्तवाहिनी, छाति र दीर्घकालीन कलेजोसम्बन्धी रोग भएकाका लागि निमोनिया विरुद्ध खोप आवश्यक हुने इन्टरनिस्ट डा. दाहालको सुझाव छ।
उनकाअनुसार वृद्धावस्थामा श्वासप्रश्वासबाट हुने मृत्युमा लगभग ५० प्रतिशत कारक निमोनिया हो। खोप लगाउँदा जोखिम करिब ५० प्रतिशत कम हुने उनले बताए।
‘खोप लगाएका व्यक्तिलाई निमोनिया भए पनि आईसीयूमा जाने स्थिति आउँदैन र कडा खाले निमोनिया हुने सम्भावना कम हुन्छ’, उनले भने।
त्यसैगरी, जाडोमा धेरैलाई हुने एउटै समस्या रुघाखोकि, ज्वरो, छाति दुख्ने, टन्सिल हो। यस्तो समस्याबाट चाँडो ग्रसित हुनेले इन्फ्लुएन्जा खोप अर्थात् फ्लु (मौसमी रुघाखोकी) भ्याक्सिन समयमै लगाउनुपर्छ।
कात्तिक/मंसिरबाट जाडो सुरु हुने भएकाले यो समय आउन केही समयअघि फ्लु भ्याक्सिन लगाउनु उपयुक्त हुने डा. दाहालको सुझाव छ।
फ्लु जटिल हुँदै गएपछि निमोनिया हुने सम्भावना हुन्छ। जसबाट बालबालिका/युवासमेतको मृत्यु हुने भएकाले यसबाट जोगिन सुई अति उपयोगी मानिन्छ।
जनै खटिरा (हर्पिज जोस्टर)विरुद्घको खोप पनि बूढापाकाका लागि उपयोगी हुने डा.दहालले जानकारी दिए।
५० वर्ष माथिका व्यक्तिलाई रोग प्रतिरोधक क्षमतामा कमी हुँदा जनै खटिराले सताउँछ। ती उमेर समूहकाले एकपटक खोप लगाउनुपर्छ’, उनले भने, ‘यो खोप विकसित देशमा प्रख्यात भएपनि नेपालमा चेतनाको अभाव छ।’
के हो भ्याक्सिन?
भ्याक्सिन कुनै विशेष रोगविरुद्ध लगाइन्छ। जस्तैः रेबिज विरुद्धको सुई।
भ्याक्सिन रोगअनुसार फरक–फरक हुन्छन्।
कुनै कीटाणुले शरीरमा प्रवेश गर्नेक्रममा शरीरमा भएको प्रतिरोधक प्रणालीले कीटाणु विरुद्ध लड्न ‘एन्टिबडी’ बनाउँछ।
एन्टिबडीले जीवाणुलाई पराजित गर्छ र रोगबाट बचाउँछ।
‘कोहीको मृर्गौला, ब्रोनम्यारो ट्रान्सप्लान्ट गरेको छ अवस्थामा शरीर कमजोर हुँदा बुस्टर डोजमा लगाउनुपर्छ’, डा. दाहालले स्पष्ट पारे।
भ्याक्सिनको प्रभावकारिता
भ्याक्सिनले २० देखि ९९ प्रतिशतसम्म काम गर्छ। जस्तैः फ्लु भ्याक्सिन थोरै प्रभावकारी हुन्छ भने रेबिजको भ्याक्सिन धेरै प्रभावकारी हुन्छ।
‘वर्तमान समयमा प्रविधिले भ्याक्सिनको प्रभावकारितलाई बढाइरहेको छ। अहिले पाठेघरको क्यान्सरलाई रोक्ने भ्याक्सिन समेत बनिसकेको छ’ डा. दाहालले भने।
कुन सुई लगाउनै पर्ने?
नेपालमा २० भन्दा धेरै प्रकारका भ्याक्सिन छन्।
जस्तैः हेपटाइटिस बी, दादुरा, मेनेनजाइटिस, निमोनिया, फ्लु भ्याक्सिन।
तर, कुन रोग जटिल हुन्छ त्यसको प्रकार हेरेर लगाउनुपर्ने इन्टरनिस्ट डा.दाहालले बताए।
सरकारले लगाउनै पर्ने भ्याक्सिन तोकेको छ, जुन भ्याक्सिन लगाउनैपर्छ।
‘तोकिएका बाहेकका भ्याक्सिन आफ्नो समस्या हेरेर लगाउँदा उपयुक्त हुन्छ। जस्तै, कोहीलाई छातिको समस्या छ भने फ्लु भ्याक्सिन लगाउनपर्छ’, डा. दहालले भने।
सुईबारे जान्नुपर्ने कुरा
कतिपयलाई अझै सुईबारे भ्रम छ। पहिलो, सुई लगाएपछि बिरामी हुन्छु भन्ने ठूलो भ्रम छ।
दोस्रो, सुई लगाएपछि ‘इम्युनि सिस्टम’ नै खस्किन्छ कि सोच्ने।
तेस्रो, सुईले काम गर्छ कि गर्दैन भन्ने अलमल।
केही समयअघि बेलायतमा मिजेल्स मनसुनबारे गरिएको अनुसन्धानमा भ्याक्सिन नलगाएका व्यक्तिमा समस्या देखियो।
अहिले भौगोलिक अवस्था, जीवनशैली, प्रदुषण, खानपिनका कारण भ्याक्सिन लगाउनै पर्ने हुनसक्ने डा. दाहालले जानकारी दिए।
तर, भ्याक्सिन विज्ञसँग परमार्श लिएर मात्रै लगाउनु पर्छ।
अधिकांशमा भ्याक्सिनले दुखाउँछ, झन् रोग बढाउँछ भन्ने पनि छ।
अर्को, मेडिकल माफियाको आर्थिक आम्दानीको स्रोत रुपमा समेत लिइन्छ।
‘कसैले दुरुपयोग गरेको पनि हुनसक्ला। त्यसमा आरोप लगाउनु भन्दा सम्बन्धित निकायले ध्यान दिनुपर्यो नि,’उनले भने।
खोपका चुनौती
नेपालमा खोपको माग बढिरहेको छ। ती खोपमा राम्रोसंग ‘कोल्ड चेन मेन्टेन’ र ‘डोज’ पुरा दिइएको छ कि छैन सरकारले अनुगमन गर्न जरुरी रहको डा. दाहालको भनाइ छ।
उनले भने ‘खोपको मुख्य चुनौती नै राम्रोसंग कोल्ड चेन मेन्टेन गर्नु हो, जुन २४ घण्टा सही तापक्रममा राख्नु हो, यो हेर्दा जति सरल देखिन्छ , काम गर्न त्यति नै गाह्रो हुन्छ।’ खोपको आफ्नै मापदण्ड हुने डा. दाहालले बताए।