लामो सयमसम्म औषधि सेवन गरेर सुधार नभएका मानसिक रोगीलाई उपचार गरिने नयाँ प्रविधि नेपालमा भित्रिएको छ।
यो प्रविधि विश्वमा १९८० बाट संचालनमा आएको भएता पनि नेपालमा भने पहिलोपटक १० महिनाअघि भित्राइएको हो।
ललितपुरको एकान्तकुनास्थित रिदम न्युरोसाइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले अमेरिकाको एफडिएबाट मान्यताप्राप्त अत्याधुनिक आरटिएमएस (रिपिटिटिभ ट्रान्सक्यार्नियल म्याग्नेटिक स्टिमुलेसन)प्रविधि भित्राएको उक्त सेन्टरका निर्देशक डा. रितश थापाले बताए।
आरटिएमएस कस्ता बिरामीका लागि उपयोगी?
लामो समयसम्म निरन्तर औषधि सेवन गरिरहेका र काउन्सेलिङ गरेर पनि निको नभएका मानसिक रोगीलाई बढी उपयोगी हुने निर्देशक डा. रीतेश थापाले जानकारी दिए।
‘विशेषगरी, डिप्रेसन, ओसेडी हेलुसिनेसन, पिडिएसटी, कडा खालका मानसिक रोग सिजोफ्रेनिया, कानमा आवाज आइराख्ने समस्या, लागूऔषधको अत्याधिक प्रयोगले निम्ताएको मानसिक रोग, जुन औषधिले पनि ठिक भएका हुँदैनन् त्यस्ता, बिरामीमा आरटिएमएस प्रविधि बढी उपयोगी हुन्छ’, उनले भने।
कसरी गरिन्छ उपचार?
आरटिएमएस प्रविधिमार्फत मानसिक बिरामीलाई दिमागको बाहिरी भागबाट मेसिन राखेर ‘माग्नेटिभ स्टुमेसन’ दिइन्छ। यो प्रविधिबाट उपचार गर्न २५ देखि ३० मिनेट लाग्छ। आरटिएमएस प्रविधिबाट उपचार गर्न निकै सहज हुने बताउँछन्,डा.थापा।
‘आरटिएमएस प्रविधिबाट उपचार गर्न बिरामीलाई भर्ना गर्नुपर्दैन, भोकै बस्नुपर्दैन, बेहोस बनाउनु पर्दैन उनले भने, ‘यो प्रविधिबाट उपचार गर्दा बिरामीले आफन्तसँग कुराकानी गर्न, टिभी हेर्न, पुस्तक पढ्न समेत सक्छन्।’
बिरामीले कम्तिमा १० पटक यो मेसिनबाट उपचार गर्नुपर्छ।
अझै सुधार नदेखिए २५ पटकसम्म उपचार गर्नुपर्ने डा. थपाले जानकारी दिए। हप्तामा पाँच दिन लगातार र दुई दिन बिराएर फेरि लगातार १० पटकसम्म गरेपछि बिरामीलाई पूर्ण ठिक हुने संभावना धेरै रहन्छ।
खर्च कति?
मानसिक रोग निको नभएपछि अधिकांश मानिस भारतलगायतका देशमा धेरै पैसा तिरेर जान बाध्य थिए।
अब नेपालमै यो प्रविधि भित्रिएपछि मानसिक बिरामीले कम पैसामै सहज उपचार पाउने डा. थापाले बताए। उनकाअनुसार आरटिएमएस प्रविधिबाट गरिने उपचारमा सेसन हुन्छ। सुरुमा गरेको १० सेसनको ७५ हजार तिनुपर्छ। त्यसपछि जतिपटक गरिन्छ, प्रतिपटक पाँच हजार दिनुपर्छ।
‘भारतको तुलनामा उक्त रकम निकै सस्तो हो। भारतमा १० पटक आरटिएमएसबाट उपचार गराएबापत ३ लाख रूपैयाँ खर्चिनुपर्छ’ डा. उनले भने।
प्रभावकारीता कस्तो छ?
यो प्रविधिबाट उपचार सुरु गरेपछि औषधि खाइरहेका व्यक्तिले डोज कम गर्न सक्छन्। जुन झन् प्रभावकारी हुन्छ।
‘तर, यो प्रविधिबारे अधिकांशलाई चेतना कम छ। ‘एकपटक गर्दैमा निको भइहाल्छ, प्रविधिको प्रयोग गरेपछि त तत्काल सकारात्मक परीणाम आउँछ भन्ने छ’ डा. थापाले भने ‘धेर्यता नराखि कतिपयले चाडो निको भएन भनेर बिचमै उपचार समेत छाड्नुहुन्छ, जसकारण परिणाम राम्रो आउँदैन।’
‘मानसिक रोग काडा झिकेजति सजिलो हुँदैन, त्यसैले चिकित्सकको सल्लाहअनुसार उपचारलाई निरन्तरता दिए मात्रै बिरामीमा सकारात्मक परिणाम देखिदैं जान्छ’, उनले थपे।
‘अझै नेपालीहरु विदेशमा गएर उपचार गर्न जति पनि खर्च गर्न तयार हुनुहुन्छ, स्वदेशमै उपचार गर्दा पर्न आउने कम रकमलाई पनि महंगो भयो भन्नुहुन्छ, जसले स्वदेशमा रहेको प्रविधिको प्रभावकारिता कम देखिनसक्छ। सरकारी तवरबाट समेत यस्ता प्रविधिमा ध्यान दिइएको पाइदैंन। विश्वमा दशककौं अगाडि संचालन भइसकेका प्रविधि नेपालमा भर्खरै भित्रिएको छ। यस्तो प्रविधिको संख्या बढाउन आवश्यक छ, जसमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ।’
‘आरटिएमएस प्रविधिमा अनुसन्धान भइसकेको छैन। प्रविधि भित्रएको समय धेरै भएको छैन, यसको प्रयोग बढेपछि मात्रै अनुसन्धान अगाडि बढ्छ’, डा. थापाले भने। हालसम्म उक्त प्रविधिबाट १५ जना मानसिक रोगीको सफल उपचार भइसकेको छ।
रिदम अस्पतालले आरटिएमएस प्रविधि भारतको मेडिकेट नामक कम्पनीबाट ३५ लाख रूपैयाँमा खरिद गरेको हो।