बिरामीलाई आइसियूमा लगेपछि अधिकांश मानिस आत्तिने गर्छन्। अझै कतिपयलाई मृत्यु नै हुन्छ भन्ने लाग्ने गर्छ। तर, आइसियू लैजादैंमा बिरामीको मृत्यु नहुने बताउँछन्, आइसियू विशेषज्ञ डा. दिप्तेस अर्याल। ‘आइसियू लगेपछि बिरामीको मृत्यु हुन्छ भन्नु भ्रम मात्रै हो, तर समयमै उपचार गर्नुपर्छ’, उनले भने।
आइसियूमा एउटा स्पेशल वार्ड हो। डा. अर्यालकाअनुसार आइसियू जनरल वार्ड जस्तै एउटा छुट्टै युनिट हो, जहाँ बिरामीलाई सामान्य वार्डमा भन्दा बढी ध्यानमा राखिन्छ। आइसियूमा लैजाने बिरामीको पनि क्राइटेरिया हुने डा. अर्यालले बताए।
उनले आइसियूमा जुनसकै बेला ज्यान जानसक्ने सिकिस्त बिरामीलाई मात्रै लगिने सुझाए।
जस्तैः शरीरबाट निरन्तर रागत बगेमा, अत्याधिक ज्वरो आएर मुटुको धड्कन बढेमा, सास फेर्न गाह्रो भएमा, मान्छे चिन्न नसक्ने भएमा लगायतका जटिल अवस्थामा बिरामीलाई आइसियू लगिन्छ ।
तर, बिरामीको अवस्था हेरेर मात्रै आइसियूमा कति समयसम्म राख्ने भन्ने हुन्छ, डा. अर्यालले भने। आइसियूमा बिरामीलाई कम्तिमा १० देखि बढीमा १४ दिनसम्म राखिने डा. अर्याल बताउँछन्।
एउटा निश्चित मापदण्डअनुसार आइसियूमा रहेका बिरामीको उपचार गरिन्छ।
आइसियूमै विशेषज्ञता गरेका आइसियू विशेषज्ञले चौबिसै घण्टा बिरामीलाई हेरचाह गर्ने गर्छन्। यससँगै आइसियूमै ट्रेनिङ गरेका अन्य चिकित्सकसहितको ठूलो टिम समेत हुने डा. अर्यालले बताए।
‘आइसियू आफैंमा एउटा सानो अस्पताल हो’, डा. अर्यालले भने।
आइसियूमा रहेका बिरामीको प्रत्येक घण्टा–घण्टामा मुटुको चाल कस्तो छ, प्रेसर कस्तो छ, पिसाब कतिको भइरहेको छ लगायतको जानकारी राखिन्छ।
तर, वार्डका बिरामीलाई छ घण्टा, आठ घण्टामा मात्रै यस्तो जानकारी राखिन्छ। आइसियूमा नेपाल मेडिकल काउन्सिलबाट क्रिटिकल केयर (इन्टेसिभिस्ट) विषयमा रजिस्टर भएका डाक्टर हुनुपर्दछ । नर्सहरु पनि आइसियू टे«निङयुक्त हुनुपर्ने डा. अर्यालले बताए।
भेन्टिलेटर जाँदैमा बिरामी मर्छ भन्नु भ्रम
भेन्टिलेटर भनेको एउटा मेसिन हो । ‘डायलासिसले मिर्गौलाको काम गरेजस्तै भेन्टिलेटरले बिरामीलाई सास फेर्न गाह्रो भयो, दम बढ्यो, अक्सिजन जति चाहिने हो त्यतिले पुगेन, कार्बनडाइअक्साइड फाल्न सकेन भने मुखभित्र हावा धकेल्ने काम गर्छ’, डा. अर्यालले भने ।
पाइपबाट फोक्सोमा पुग्छ जसले अक्सिजन दिन्छ र नचाहिने हावा फ्याँकिदिन्छ । भेन्टिलेटर भनेको फोक्सोलाई सपोर्ट गर्न बनाएको मेसिन हो । जब फोक्सोको समस्या ठीक हुन्छ, भेन्टिलेटर बन्द हुन्छ ।
भेन्टिलेटरमा जाँदैमा बिरामी मर्छ भन्नु भ्रम रहेको डा अर्यालको भनाइ छ। ‘तर समयमै उपचार गर्नुपर्छ । समयमै उपचार हुनसके भेन्टिलेटरसम्म पुगेका बिरामी पनि पहिलेझैँ स्वस्थ हुन सक्छन् ।’, उनले भने ।
आइसियूको अवस्था तनावपूर्ण
आइसियूको अवस्था तनावपूर्ण हुने बताउँछन्, डा. अर्याल । ‘आइसियूमा २४ घन्टा खट्नुपर्ने हुन्छ । दिनरात एउटै लेभलमा काम गर्नुपर्ने हुन्छ’, उनले भने । तर, टिम मिलाएर काम गर्यो भने तनाव भए पनि काम राम्रोसँग गर्न सकिन्छ । एकजनाले मात्रै आइसियूमा काम गर्न सकिँदैन ।
बिरामीलाई दोहोराएर आइसियू लानू कमजोरी
आइसियूबाट बिरामी निकाल्ने पनि एउटा क्षेत्राधिकार हुन्छ । जसमा कस्ता–कस्ता बिरामीलाई आइसियूबाट डिस्चार्ज गर्ने भन्ने हुन्छ । यदि कुनै बिरामी आइसियूबाट डिस्चार्ज भएर वार्डमा गएर मृत्यु भयो भने त्यसमा केही कमीकमजोरी भएको हुन सक्छ।
त्यो बिरामीलाई वार्डमा पठाउने बेला नै नभएको हो कि, त्यो क्षेत्राधिकारभित्र रहेर काम नभएको हो कि लगायतका कुरामा विचार गर्नुपर्ने डा. अर्यालले बताए ।
‘आइसियूबाट गएको ४८ घन्टाभित्र फेरी आइसियू नै लैजानुपर्यो भने त्यो पनि राम्रो होइन’, अर्यालले भने ।
‘पहिला नै त्यो बिरामीलाई पठाउनयोग्य थिएन कि भनेर मूल्यांकन गर्नुपर्छ । तर, कहिलेकाहीँ उपचार गर्दागर्दै बचाउन नसकिने अवस्था पनि आउनसक्छ’, उनले थपे ।
बिरामीको आफन्तसँग कम्युनिकेसन ग्याप नराखौं
कुनै पनि बिरामीलाई यदि उपचार गर्न सकिदैंन भने पहिले नै बिरामीको आफन्तलाई स्पष्टसँग भन्नुपर्ने डा. अर्यालले बताए । ‘समय–समयमा बिरामीको अवस्थाबारे जानकारी दिइरहनुपर्छ । कम्युनिकेसन ग्यापका कारण विभिन्न आक्षेप लाग्न सक्छन्’, उनले भने ।
आइसियूका बिरामीलाई पनि विमा नीति आवश्यक
रोगीको अवस्था गम्भीर भएर अस्पताल गए समय र खर्च स्वाभाविक रूपमै बढ्छ ।
आइसियूमा पनि समयमै बिरामी पुग्यो भने धेरै खर्च नहुने डा. अर्यालले बताए । उनले बिरामीको जति चाँडो उपचार सुरु गर्यो उति नै चाँडो निको हुने र उति नै चाँडो बिरामी आइसियूबाट बाहिर जाने बताए ।
‘तर, हाम्रो देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा तुलनात्मक रूपमा आइसियु खर्चिलो नै छ, यसकारण विमाको नीति आइसियूको बिरामीमा पनि सुरु गर्न जरुरी छ’, डा. अर्यालले भने ।
जस्तैः आइसियूमा भर्ना भयो भने विमाले कभर गर्ने भन्ने प्रणाली विकास गर्न आवश्यक छ ।
भारतकै मेदान्त अस्पतालमा समेत आइसियूमा आएका ५० प्रतिशतभन्दा बढी बिरामी बिमाले कभर गर्छ । त्यो सरकारी बिमाले मात्रै होइन कि निजी बिमाले नै कभर गर्छ ।
तर, हाम्रोमा त्यो सिस्टम छैन । विमा भनेपछि सामान्य रोगमा मात्रै भइरहेको छ । यसमा सरकारको ध्यान जान जरुरी रहेको डा. अर्याल बताउँछन् ।
आइसियूबाट बिरामी डिस्चार्च गर्दा यी कुरामा ध्यान
डा. अर्यालका अनुसार आइसियूबाट डिस्चार्ज हुँदा बिरामीको गम्भीर समस्याचाहिँ निको हुन्छ । जस्तैः निमोनियमा भएको बिरामी निको भएता पनि त्यस समयमा तौल घटेको हुन्छ, मानसिक तनाव बढ्छ ।
झन्डै ज्यान गइसकेको अवस्थाको मान्छे बाँचेर आएको हुन्छ । त्यस्तो अवस्थाले लामो समयसम्म चिन्तित बनाइरहेको हुन्छ ।
बिरामी बाँचेर मात्रै भएन नि । पहिलाको जस्तै काममा फर्किन सक्नुपर्यो, बिरामीले पहिलाको जस्तै समान्य जीवन जिउन सक्नुपर्यो ।
यो हुुनका लागि हामीले आइसियूमा भर्ना भएकै दिनदेखि सोचेनौँ भने बिरामी पहिलाको जस्तै जीवन जिउन ६ महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ ।
यसकारण त्यस्तो नहोस्, चाँडै समान्य जीवनमा आओस् भनेर तीनवटा कुरामा ध्यान दिनुपर्ने डा. अर्यालको सुझाव छ ।
१. सहानुभूति राखेर उपचार गर्नुपर्छ (उपचार गर्दा आफ्नै ठानेर उपचार गर्नुपर्छ) । बिरामीलाई मानसिक रूपमा पनि सहायता दिएर हरेक कुरामा प्रोत्साहन गनुपर्छ ।
२. पहिलादेखि नै पोषणयुक्त खाना खुवाउनुपर्छ । तौल घटाउन दिनुहुँदैन ।
३. फिजियोथेरापी र रिहाबिलिटेसन । पहिलो दिनदेखि नै यी कुरा गर्न आवश्यक छ । आइसियूमा भएका बिरामी हातखुट्टा चलाउन सक्दैनन् ।
ती बिरामीलाई फिजियोथेरापिस्टले चलाइदिनुपर्छ ।
हिड्न सक्ने बिरामीलाई आइसियूको बाहिर लगेर घुमाउनुपर्छ । यी तीनवटामा ध्यान दियौँ भने आइसियूबाट निस्केका बिरामीलाई ६ महिना, एक वर्षबाट झारेर एक महिनामै सामान्य जीवनमा फर्काउन सकिने डा. अर्यालले बताए ।