तिहारले चाँदीको माग दोब्बर, बजारमा अभाव


तिहारका कारण बजारमा यतिबेला दैनिक चाँदीको माग सामान्य दिनमा भन्दा दोब्बरले बढेको छ। जसले गर्दा बजारमा चाँदीका गरगहना तथा भाँडाको नयाँ अर्डर समेत व्यवसायीहरुले लिन सकेका छैनन्।

विभिन्न भाँडाहरु बनाउन चाँदीको प्रयोग भएकाले माग दोब्बरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सामान्यतः चाँदी प्रतिदिन सरदर साढे ४ सय केजी माग हुने गरेकोमा यतिबेला १ हजार केजीभन्दा बढी छ।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बजारमा चाँदीको माग दोब्बरभन्दा धेरैले बढेकोले अभाव झेल्नुपरेको बताए। ‘यतिबेला बजारमा चाँदीको अभाव छ, भनेजति पाएको अवस्था छैन, अर्कोतर्फ ग्राहकबाट सामानको अर्डर लिइसकेपछि दिन सकिएको छैन’ शाक्यले भने।

भनेजति चाँदी आफैले नपाएको उनले स्पष्ट पारे। उनले थपे ‘मैले भनेजति चाँदी पाउन सकेको छैन, आफ्नै पसल पनि बेलाबेलामा बन्द गर्नुपरेको अवस्था छ।’

तिहारका बेला चाँदीको नयाँ भाँडा तथा गरगहना किनेर लक्ष्मीलाई खुसी पार्नुपर्ने मान्यता रही आएको छ। जसले गर्दा चाँदीको चम्चा, थाली, कचौरा, प्लेट, गरगहना यतिबेला बढी बिक्री हुने गरेको र त्यसले माग बढाएको शाक्यले बताए।

कोटेश्वरस्थित ओमलक्ष्मी सुनचाँदी पसलका संचालक ओम अमात्यका अनुसार चाँदीका भाँडा अर्डर गर्न आउनेहरु अहिले रित्तै फर्किएका छन्। ‘अहिले चाँदी पाइएकै छैन, भएको पनि सिद्धिहाल्यो, अब कसरी अर्डर लिनु?’ उनले भने।

नेपालमा सीमित व्यवसायी तथा बैंकहरुले चाँदीको आयात गर्ने गरेका छन्। निश्चित प्रक्रिया पुरा गरेपछि व्यवसायीले पनि चाँदीको आयात गर्न सक्छन्। यद्यपी चाँदीको आयात गर्ने व्यवसायी भने सीमित छन्।

मुद्रालाई डलरमा सटही गरी अग्रिम भुक्तानी गर्नुपर्ने, बिमा गर्नुपर्ने लगायत अनेक झन्झटका कारण चाँदीको आयात गर्ने व्यवसायी एकदमै कम रहेको निवर्तमान अध्यक्ष शाक्यले बताए। ‘अन्तर्राष्ट्रिय व्यवसायीले हामीलाई भन्दा बैंकहरुलाई बढी विश्वास गर्छन्, जसले गर्दा चाँदी आयातमा लागेका व्यवसायी कम छन्’ उनको भनाइ छ।

एक वर्षमै चाँदीको आयात २० प्रतिशतले बढ्यो
नेपालमा वर्षेनि चाँदीको खपत र आयात बढ्दै गएको देखिन्छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ६० करोड ७५ लाख रुपैयाँको चाँदी आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो।

आव २०७२/७३ मा ७ अर्ब १२ करोड २१ लाख रुपैयाँको चाँदी आयात भएको थियो। योबाहेक विदेशिएकाले गरगहनाका रुपमा ल्याउने चाँदीको भने हिसावकिताव छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले विदेशिएकाले फर्कँदा ल्याउने चाँदीको तथ्याङ्क राख्ने गरेको छैन। विदेशमा चाँदी सस्तो पर्ने भएकाले विदेशिएका नेपालीले उतैबाट चाँदीका गरगहना तथा लेपन गरिएका भाँडा ल्याउने गरेका छन्।

६ महिनाभन्दा बढी समय विदेश बसेका नेपालीले त्रिभुवन विमानस्थलबाट ५ सय ग्राम वा सोभन्दा कम परिमाणमा चाँदी ल्याउन पाउँछन्। सो परिमाणसम्मको चाँदीमा कुनै भन्सार शुल्क तिर्नु पर्दैन।

मूल्य भने गत वर्षको तिहारमाभन्दा सस्तो
चाँदीको मूल्य भने गत वर्षको तिहारमा भन्दा यसपालि केही सस्तो छ। महासंघको तथ्याङ्कअनुसार गत वर्ष तिहारका बेला चाँदी प्रतितोला ८ सय रुपैयाँको हाराहारीमा रहेकोमा यतिबेला ७७५ रुपैयाँको हाराहारीमा छ।

सुनको मूल्य गत वर्षको तिहारमा भन्दा महँगिएका बेला चाँदीको मूल्य घटेकाले पनि यतिबेला बजारमा यसको माग बढेको व्यवसायी बताउँछन्। असोज २० गते चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँसम्म झरेको थियो।

त्यसयता क्रमिक रुपमा बढेको चाँदीको मूल्य आज आइतबार प्रतितोला ७७५ रुपैयाँमा कायम भएको छ। विगत एक वर्षलाई हेर्दा चाँदीको मूल्य तोलामा न्यूनतम ७०५ रुपैयाँसम्म झरेको छ भने उच्चतम मूल्य ८३५ रुपैयाँसम्म पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.