तिहारपछिको दुई दिनमा स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।
आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार दुई हजारले मूल्य घटेको हो। सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
असोज ३१ गते स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको थियो। सो दिन सुन प्रतितोला दुई लाख ५८ हजार रूपैयाँसम्म पुगेको थियो।
अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतिऔंस चार हजार ८२ डलरमा झरेको थियो। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
त्यसयता सुनको मूल्य घट्दो क्रममा नै देखिएको छ। कतिपयले अल्पकालको लागि सुनको मूल्य प्रतिऔंस तीन हजार डलरसम्म आउने प्रक्षेपण गरिरहेका छन्।
गोल्डम्यान सान्चले सन् २०२५ को अन्त्यसम्म प्रतिऔंस सुनको मूल्य चार हजार डलरमा रहिरहन सक्ने प्रक्षेपण गरेको द स्ट्रिट डटकमले उल्लेख गरेको छ।
‘एकै वर्षमा करिब ५० प्रतिशतले बढेर प्रतिऔंस चार हजार चार सय डलर पुगेको सुनको मूल्य गत अक्टुबर २१ (गत मंगलबार) एकै दिन दशकयता ६ प्रतिशतले घट्यो। यसले सुनको लामो उकालो यात्रा समाप्त हुन लागेको हो कि लगानीकर्ताले अहिलेको गिरावटलाई किन्ने मौका ठान्नुपर्छ भन्ने बहसलाई थप बल दिएको छ,’ द स्ट्रिटले उल्लेख गरेको छ।
सोही क्रममा गोल्डम्यान सान्चले सन् २०२५ को अन्त्यसम्म प्रतिऔंस सुनको मूल्य चार हजार डलरमा अडिन सक्ने प्रक्षेपण गरेको द स्ट्रिटले समाचारमा उल्लेख गरेको छ।
विश्वका केन्द्रीय बैंकहरूले सुन किन्ने क्रम बढाउँदा, अन्तर्राष्ट्रिय परिवेशमा राजनीतिक वातावरण धुमिल हुँदा र डलरको भाउ बढ्न नसक्दा सुनको मूल्य बढिरहेको हो।
पछिल्लो समय भने सुनको मूल्य उच्चले बढिसकेकाले केही समय मूल्य घट्ने प्रक्षेपण भइरहेको हो। यद्यपी दीर्घकालमा भने सुनको मूल्य बढ्ने प्रक्षेपण गरिएको छ।