इन्टरनेटमा जेन-जी र मिलेनियल्सबीच के के समानता र भिन्नता छन् भन्नेबारे बहस चलिरहन्छ। भविष्यमा जेन-अल्फा र जेन-जीको पनि तुलना हुँदै जाला।
हरेक पुस्ताको आफ्नै विशेषता हुन्छ। उनीहरूले आफ्नो ब्रान्ड, संगीत र फेसनलाई अरूभन्दा फरक तरिकाले अपनाउँछन्।
यस्तै फरक हामी जेन-जीको कपाल काट्ने तरिका र स्टाइलमा पनि देखिन्छ।
जेन-जीभन्दा अगाडिको मिलेनियल्स पुस्ता सामान्यतया पार्लर वा सैलुनमा गएर कपाल काट्छ। चिटिक्क काटिएको कपाल मनपराउँछ। जेन-जी पनि नजाने होइन, तर यो पुस्ताको फरक के भने, उनीहरू युट्युबमै ट्युटोरियल भिडिओ हेरेर आफै पनि कपाल काट्छन्।
तपाईंहरू पनि युट्युब हेर्दै घरमै कपाल काट्नुहुन्छ भने जेन-जी पुस्ताको दुनियाँमा भिज्नुभयो!
जेन-जीको कपाल काट्ने स्टाइल पनि बेग्लै छ। हामीले मिलेनियल्सको यू, भी, बब, लेयर्स, फेदर लगायत स्टाइल देख्यौं। बांगो सिउँदो काढेर सर्लक्क पारेको कपाल देख्यौं। जेन-जी भने योभन्दा बेग्लै कटमा रमाउन थालेको छ। हामी कपालको सिउँदो बीचमा काढ्न मनपराउँछौं। सर्लक्कभन्दा थोरै 'मेस्सी' र 'वाइल्ड' कपाल रूचाउँछौं।
कपाल रंगाउने मामिलामा पनि हामीले थोरै नयाँ स्टाइल सुरू गरेका छौं।
उदाहरणका लागि — मिलेनियल्सले आफ्नो कपाल रातो, खैरो, कैलो र कालो पार्यो। केही समय रंगीबिरंगी हाइलाइटमा पनि रमायो। जेन-जीहरू भने यी सँगसँगै सिल्भर, खरानी, गोल्डेन र सेतो रङ समेत लगाउँछन्।
यो लेखमा आज म जेन-जी पुस्तामा चलेका केही प्रमुख हेयर स्टाइलबारे चर्चा गर्दैछु।
वुल्फ कट
![wolfcut-1739123598.jpg](https://www.setopati.com/uploads/posts/wolfcut-1739123598.jpg)
यो जेन-जीहरूमा चर्चित हेयरकट हो। खासगरी कोरोना लकडाउन बेला यो स्टाइल भाइरल भएको थियो।
त्यति बेला बाहिर निस्किन नपाउँदा जेन-जी पुस्ताले घरमा आफै यो स्टाइलमा कपाल काटेर टिकटकमा फोटो अपलोड गरेका थिए।
यो स्टाइलमा कपाल अलि छरिएजस्तो हुन्छ। सपक्क हुँदैन। अंग्रेजीमा भन्दा यसलाई ब्वाँसोको चरित्रसँग जोडेर 'वाइल्ड (जंगली) र अनटेम्ड (अनियन्त्रित) भनिन्छ। त्यसैले 'वुल्फ कट' नाम दिइएको हो।
यो कटमा कपालको माथिल्लो भाग छोटो र तल्लो भाग लामो हुन्छ। माथिल्लो तहको कपाल मुखभन्दा अलि माथिसम्म आउँछ। यो कट प्रायः ठिक्कको लम्बाइ वा लामो कपालमा कटिन्छ।
यो स्टाइलले कपाल बाक्लो र 'युनिक' देखाउँछ। लकडाउनदेखि चलेको यो स्टाइल आज पनि उत्तिकै लोकप्रिय छ।
ब्रोकाउली कट
![broccoli-cut-1739123598.jpg](https://www.setopati.com/uploads/posts/broccoli-cut-1739123598.jpg)
ब्रोकाउली कट जेन-जी केटाहरूमा चर्चित स्टाइल हो।
यो कटमा माथिको कपाल ब्रोकाउली जस्तै घुमाउरो र घुम्रिएको हुन्छ। यसले कपाललाई फरक र आधुनिक देखाउँछ। कपालको छेउ छेउ भने खौरेर सफा पारिएको हुन्छ।
यो हेयरकटले पनि टिकटकबाट खुबै लोकप्रियता पाएको छ।
पिक्सी कट
![pixie-haircut-1739123602.jpg](https://www.setopati.com/uploads/posts/pixie-haircut-1739123602.jpg)
यो केटीहरूमा चर्चित हेयरकट हो। छोटो कपाल मन पराउने केटीहरूका लागि यो उपयुक्त हुन्छ।
यो स्टाइलमा माथिल्लो भागको कपाल लामो राखिन्छ भने तलतिरको र छेउका कपाल छोटो काटिन्छ।
'बोल्ड' स्टाइल मानिने पिक्सी कट अलि फरक शैली रूचाउने जेन-जीमाझ लोकप्रिय छ। यो हेयरकटले अनुहार खुला देखाउँछ। मुख्य कुरा, यो कपाल गोलो, लाम्चो, वर्गाकार सबै खालको अनुहारलाई सुहाउँछ।
मप कट
![mop-haircut-1739123601.jpg](https://www.setopati.com/uploads/posts/mop-haircut-1739123601.jpg)
मप कट जेन-जी केटाहरूमा चर्चित छ। नामबाटै अनुमान लाउनुस्, यो भुइँ पुछ्ने मप जस्तै हुन्छ।
यसमा कपालको बीचको भाग लामो राखिन्छ। छेउ छेउको भाग त्योभन्दा छोटो पारिन्छ।
अलि फुरफुर पारेर काटिएको यो कपाल आधुनिक र कूल मानिन्छ। यो पनि टिकटकमा निकै भाइरल स्टाइल हो।
बटरफ्लाइ कट
![butterfly-haircut-1739123599.jpg](https://www.setopati.com/uploads/posts/butterfly-haircut-1739123599.jpg)
बटरफ्लाइ कट छोटो र लामो दुवै खाले कपालमा सुहाउँछ।
यसमा निधारतिरको कपाल छोटो बनाउन सकिन्छ। पहिलो तह मुखदेखि सुरू हुन्छ। अनि हरेक तह लामो गर्दै मिलाएर काटिन्छ।
यसरी तह तह गर्दै जाँदा यसको डिजाइन पुतलीको पखेटा जस्तो देखिन्छ। त्यसैले यसलाई बटरफ्लाइ कट भनिएको हो।
यो कटमा पनि कपाल बाक्लो र स्टाइलिस देखिन्छ।
कर्टेन ब्याङ्स
![curtain-bangs-1739123600.jpg](https://www.setopati.com/uploads/posts/curtain-bangs-1739123600.jpg)
कर्टेन ब्याङ्स अहिले जेन-जीहरूमा निकै हिट छ। यसलाई पहिले चाइनिज कट पनि भनिन्थ्यो।
यो स्टाइलमा थोरै र अगाडिको कपाल मात्र काटिन्छ। निधारमा सबभन्दा पहिलो तहको कपाल आँखासम्म वा त्योभन्दा अलि मुनिसम्म काटिन्छ। बीचको भाग छोटो र छेउको भाग अलि लामो गरिन्छ। अनि बीचमा फोरेर दुईतिर छाडिन्छ। ठ्याक्क पर्दा खोलेजस्तै। त्यसैले यसलाई कर्टेन ब्याङ्स भनिएको हो।
यो कट जुनसुकै लम्बाइको कपालमा सुहाउँछ। निधार सानो वा ठूलो दुवैमा राम्रो देखिन्छ। त्यसैले पनि जेन-जीका अधिकांशले यो कट मनपराएका छन्।
टिकटकमा आफै कर्टेन ब्याङ्स स्टाइलमा कपाल काट्दै गरेका जेन-जीका थुप्रै भिडिओ देख्न सकिन्छ।
बज कट
![buzz-cut-1739123599.jpg](https://www.setopati.com/uploads/posts/buzz-cut-1739123599.jpg)
यो केटाहरूको हेयर स्टाइल हो। यसमा अनुहार सफा र राम्रो देखिन्छ।
यसमा कपाल धेरै छोटो काटिन्छ। माथि तालुतिरको भागमा अलि लामो र तल जाँदासम्म पूरै खौरिए जस्तो हुन्छ। पछाडि यो स्टाइल हाम्रा आर्मी, पुलिसले काट्ने जस्तै देखिन्छ।
स्टाइलिस बज कटमा निधार, कानको छेउ र पछाडि ब्लेड लगाएर सिनिन्त पारिएको हुन्छ। सबैतिर सिधा र सफा लाइनले कपालको सीमा छुट्टयाइन्छ।
छोटो कपाल रूचाउने वा पातलो कपाल भएकाहरूलाई यो कटले स्टाइलिस देखाउन मद्दत गर्छ।
मुलेट कट
![mullet-haircut-1739123602.jpg](https://www.setopati.com/uploads/posts/mullet-haircut-1739123602.jpg)
यो केटा र केटी दुवैमा चर्चित हेयर स्टाइल हो।
यसमा माथिको कपालभन्दा तलको कपाल अलि लामो हुन्छ। कसैले छेउमा खौरिन्छन् पनि।
यो हेयरकट सन् १९७० र १९८० मा चलेको थियो। अहिले जेन-जीले यसलाई फेरि ट्रेन्डमा ल्याएको हो।
संसारका चर्चित फेसन ब्रान्डहरूले आफ्ना मोडललाई यस्तो हेयरकटमा प्रस्तुत गरेका छन्। अरूभन्दा युनिक देखिने यो कट टिकटक र इन्स्टाग्रामबाटै जेन-जीमाझ फैलिएको हो।
***