ज्यानै कमाउने जाडो याम कतिलाई पटक्कै मनपर्दैन। कोही यस्ता पनि हुन्छन्, जसलाई वर्षभरिमा सबभन्दा मनपर्ने मौसम नै जाडो हुन्छ।
केही व्यक्तिलाई त जाडो याम सिर्फ यस कारण मनपर्छ — यो बेला थरीथरी डिजाइनका ज्याकेट लगाउन पाइन्छ।
आर्थिक रूपले सोच्ने हो भने जाडोको फेसन आफैमा महँगो हो। किनभने, यो फेसन बढीमा दुईदेखि तीन महिना मात्र चल्छ। हामीले दुई वा तीन महिना लगाउने ज्याकेट वा जाडोका अन्य लुगामा जति पैसा खर्च गर्छौं, त्यतिले मोटामोटी बाँकी याम कट्छ।
तर त्यसो भन्दैमा ज्याकेटबिना जाडो काट्न सकिँदैन।
जुनसुकै लुगामाथि खप्ट्याउन सकिने र लगाउन पनि सजिलो भएकाले जाडोमा न्यानो बस्न धेरैलाई ज्याकेट नै सजिलो लाग्छ। सबैले आफ्नो शरीरको आवश्यकता अनुसार पातलो, मोटो वा धेरै नै मोटो ज्याकेट लगाउँछन्।
हामी जेन-जी पुस्ता त अझ पातलो, मोटो भन्दा पनि डिजाइन अनुसारै ज्याकेट किन्न रूचाउँछौं।
त्यसैले यो स्टोरीमा म बजारमा चलेका पाँचवटा स्टाइलका ज्याकेटको चर्चा गर्दैछु —
१) बम्बर ज्याकेट
यो आफ्नो ट्रेन्डी स्टाइलकै कारण युवाहरूमाझ लोकप्रिय ज्याकेट हो।
यो ज्याकेटमा अगाडि जिपर हुन्छ भने कम्मर र नाडीको भाग कसिलो हुन्छ। घाँटीमा आकर्षक कलर पनि हुन्छ।
यो ज्याकेट जाडो र गर्मी दुवै मौसममा लगाउन मिल्ने डिजाइनमा उपलब्ध छन्। गर्मी यामको बम्बर ज्याकेट पातलो हुन्छ भने जाडोमा लगाउने डिजाइन बाक्लो र तातो खालको हुन्छ। यसबाहेक छालाबाट बनेको बम्बर ज्याकेट पनि लोकप्रिय छ।
खिचापोखरीको पिपल्स प्लाजाकी ज्याकेट बिक्रेता प्रिया गुरूङका अनुसार हिजोआजका केटाकेटी, खासगरी जेन-जीहरू यो डिजाइनको ज्याकेट खुब मनपराउँछन्। आफ्नो ज्यानको आकारभन्दा ठूलो वा खुकुलो साइजको बम्बर ज्याकेट लगाउने फेसन चल्तीमा रहेको उनले बताइन्।
'यो औपचारिक र अनौपचारिक दुवै अवसरमा लगाउन सकिन्छ। धेरै भड्किलो नभएकाले मान्छेलाई सिम्पल देखाउँछ,' उनले भनिन्, 'त्यही भएर पनि यो बढी ट्रेन्डिङमा छ।'
यो ज्याकेट विभिन्न रङ र स्टाइलमा पाइन्छ। कतिपय बम्बर ज्याकेटमा स्टिकर वा ट्यागहरू राखिएका हुन्छन्। अलि स्टाइलिस बम्बर ज्याकेट लगाउन चाहनेले थरीथरी स्टिकर वा ट्याग भएको डिजाइन प्रयोग गर्छन्।
२) पफर ज्याकेट
पफर ज्याकेटको हाम्रो बजारमा धेरै देखिन थालेको करिब दुई वर्ष भयो। बाहिरबाट हेर्दा भुक्क देखिने यो ज्याकेट निकै हलुको हुन्छ। लगाउन पनि एकदमै सजिलो हुन्छ। भित्र डाउन (हाँसको प्वाँख) वा सिन्थेटिक फाइबर हुने भएकाले जाडोमा ज्यान तातो राख्छ।
यो ज्याकेट लगाउँदा भित्र बाक्लो लुगा लगाइरहनु पर्दैन। टि-सर्टमाथि ज्याकेट खप्ट्याउँदा नै न्यानो हुन्छ। त्यही भएर पत्र-पत्र लुगा लगाउन मन नलाग्नेहरू पफर ज्याकेट रोज्छन्।
यो लामो वा छोटो दुवै डिजाइनमा उपलब्ध छ। हात र कम्मर दुवैतिर लामो हुने पफर ज्याकेट बढी ट्रेन्डमा छ।
यसको अगाडि भागमा घाँटीसम्म आउने जिपर हुन्छ। विभिन्न रङमा उपलब्ध यो ज्याकेटको माग जेन-जी केटी वा केटा दुवैमा उत्तिकै लोकप्रिय छ। यसमा पर्याप्त इन्सुलेसन भएकाले शरीरको न्यानोपन कपडाबाहिर जाँदैन, जसले ज्यान तातो राख्न मद्दत गर्छ। डाउन प्रयोग गरिएको पफर ज्याकेट महँगो भए पनि बढी न्यानो हुन्छ।
नेपालको एक लोकप्रिय ज्याकेट उत्पादक कम्पनी सोनामले पनि पफर ज्याकेट बनाउँछ।
'अहिले जाडोमा युवा पुस्ताले पफर ज्याकेट खुब मनपराएका छन्,' सोनामका बिक्रेता निरज पौडेलले भने, 'पढ्न विदेश जानेहरूले पनि सोनामको पफर ज्याकेट किनेर लैजान्छन्।'
३) लेदर ज्याकेट
लेदर ज्याकेटको विशेषता के भने, यसको फेसन कहिल्यै जाँदैन। जाडो होस् वा गर्मी; जुनसुकै मौसममा यो ज्याकेट फेसनमै हुन्छ।
फरक यत्ति हो, जाडोमा लगाइने लेदर ज्याकेटको भित्र भुवा हुन्छ। यही भुवाले ज्यान तातो राख्छ। गर्मी याममा भुवा नभएको लेदर ज्याकेट बढी चल्छ।
पछिल्लो समय कलर (कठालो) मा पनि भुवा भएको लेदर ज्याकेट चल्तीमा छ। यसले ज्यान सँगसँगै घाँटी पनि तातो राख्छ।
लेदर ज्याकेटमा धेरै चलेको रङ कालो, खैरो र मरून हो।
पिपल्स प्लाजाकी ज्याकेट बिक्रेता प्रिया गुरूङका अनुसार यो ज्याकेटको माग धेरै भएर कहिलकाहीँ त स्टक नै सकिन्छ। हेर्दा स्टाइलिस र जुनसुकै लुगामा सुहाउने भएकाले यसको फेसन सदाबहार चल्ने उनको भनाइ छ। प्रायःले लेदर ज्याकेटभित्र हुडी वा टि-सर्ट लगाउँछन्।
'यो ज्याकेट केटी र केटा दुवैले बराबर लगाउँछन्,' उनले भनिन्, 'जेन-जीहरूले बाहिर स्टिकर वा केही प्रिन्ट भएको लेदर ज्याकेट बढी रूचाउँछन्।'
४) डेनिम ज्याकेट
डेनिम ज्याकेटलाई धेरैले जिन्सको ज्याकेट भनेर चिन्छन्।
लेदर ज्याकेटजस्तै यो पनि जाडो वा गर्मी जुनसुकै मौसममा लगाइन्छ। जाडोमा लगाइने डेनिम ज्याकेटभित्र जीउ तातो राख्ने भुवा हुन्छ।
युवा पुस्ता, खासगरी जेन-जीहरूले लामो आकारको र आफ्नो ज्यानभन्दा ठूलो साइजको डेनिम ज्याकेट रूचाउँछन्।
यो ज्याकेट पनि सदाबहार फेसनमा रहन्छ। बजारमा हरेक वर्ष नयाँ डिजाइनको ज्याकेट आए पनि डेनिम ज्याकेटको बिक्रीमा कुनै असर नपर्ने बिक्रेताहरू बताउँछन्।
लामो समय टिकाउ रहने डेनिम ज्याकेट उन्नाइसौं शताब्दीमा कारखाना मजदुरका लागि उत्पादन गरिएको थियो। तर यसको प्रयोग कारखाना मजदुरमा सीमित रहेन। बजारमा पुस्ता-दर-पुस्ता यो ज्याकेट 'हट केक' बन्दै आयो।
अहिले संसारका थुप्रै लोकप्रिय ब्रान्डले डेनिम ज्याकेट उत्पादन गर्दै आएको छ।
५) फो फर ज्याकेट
फो फर भनेको भुवाजस्तो कपडा हो, जसले जीउलाई तातो राख्छ। त्यसैले जाडो याममा यो डिजाइनको ज्याकेट खुब चल्छ।
यो ज्याकेट पनि धेरै स्टाइलमा उपलब्ध छन्। कुनैमा हल्का लेदर हुन्छ भने कुनै बम्बर ज्याकेटजस्तै हुन्छ। अगाडि ठुल्ठूला टाँक भएकाले बढी स्टाइलिस र अरू ज्याकेटभन्दा फरक देखिन्छ।
प्रायः फो फर ज्याकेटमा कान छोप्ने टोपी पनि हुन्छ। कान छोप्ने टोपीकै कारण केटीहरूमा यसको माग धेरै भएको सोनामका बिक्रेता निरज पौडेलले बताए।
उनका अनुसार अत्यधिक मागकै कारण सोनामले पनि फो फर ज्याकेट उत्पादन गर्न थालेको छ, जसमा आधा भुवा र आधा फाइबर राखिएको छ।
'यो ज्याकेट युवाहरूले धेरै लगाउँछन्,' उनले भने, 'तर अरू उमेरमा पनि उत्तिकै लोकप्रिय छ।'
***