महँगिएपछि सुन बिक्नै छाडेको छ। आधिकारिक रुपमा सुन ल्याएर व्यवसायीलाई बेच्ने जिम्मा पाएका बैंकहरुमै सुन थन्किएको छ। एक महिनायता बैंकहरुले सुन आयात गरेका छैनन्।
नेपाल बैंकर एसोसिएसनका अनुसार बैंकहरुमा हाल ६४३ केजी सुन नबिकेर थन्किएको छ। ‘अहिले सुनको माग एकदमै कम छ’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सेतोपाटीसँग भने ‘सामान्तः महिनामा औसत ६ सय केजी सुन व्यवसायीले लिने गरेका हुन्, तर हाल बैंकमै थन्किएको छ।’
असार महिनाभर जम्मा २६ केजी मात्रै सुन बिक्री भएको शर्माले जानकारी दिए। ‘यद्यपी साउनमा भने माग केही बढेको छ, यो महिनाभर करिब १ सय केजी बिक्री हुने अनुमान छ’ शर्माले भने।
सुनको बिक्री नै नभएपछि एक महिनादेखि बैंकहरुले सुन आयात गरेका छैनन्। दैनिक २० केजीसम्म सुन भित्र्याउनेगरी वाणिज्य बैंकहरुले जिम्मा पाएका छन्।
सुन बिक्री नहुनुको प्रमुख कारण मूल्य बृद्धि नै रहेको व्यवसायी बताउँछन्। ‘तीजका बेला सुनको कारोबार अत्याधिक हुने गरेको हो’ सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ‘तर महँगिएपछि दुई महिनादेखि बिक्री घटिरहेको छ।’
पोहोर तीजका बेला सुनको मूल्य प्रतितोला ५६ हजार ५ सयदेखि ५८ हजारसम्म थियो। तर पछिल्ला तीन दिनयता सुनको मूल्य ७० हजार रुपैयाँमा अडिएको छ। सुन महँगिदा बजारमा किन्नेहरु नभएको बरु बेच्नेहरु बढेको शाक्यले बताए।
‘पोहोर यतिबेला दैनिक ३५ केजी माग हुन्थ्यो, अहिले दैनिक ५/६ केजी मात्रै छ’ उनले भने। दैनिक २० केजी सुनको कोटा नपुग्ने भन्दै पोहोर यतिबेला व्यवसायीहरुले बढाउन माग गरेका थिए। उनीहरुको मागपछि नै चाडपर्वका बेला राष्ट्र बैंकले केही महिना दैनिक २५ केजीसम्म कोटा खुलाएको थियो।
तर अहिले माग नहुँदा व्यवसाय समेत संकटमा परेको उनले गुनासो गरे। शाक्यका अनुसार हालको मागमा पनि पुरानो गरगहना बिक्री गर्न आउनेबाट धेरै हदसम्म धानिएको छ। त्यसमाथि वैदेशिक रोजगारमा गएकाहरुले पनि ऐनले दिएको सुविधा प्रयोग गरी भरपुर सुनका गरगहना ल्याउने गरेका छन्।
व्यक्तिगत रुपमा ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार शुल्क लाग्दैन। ५० ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म प्रति दश ग्राम ७ हजार २ सयका दरले भन्सार शुल्क तिरेर ल्याउन पाइने व्यवस्था छ।
हाल प्रत्येक बैंकहरुले ५० केजीका दरले पालैपालो सुन ल्याउने गरेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। दुई दिन र एक दिनको आधा कोटाको ५० केजी एउटा बैंकले र अर्को दुई दिन र एक दिन अर्को बैंकले गरेर सरदर हप्तामा १ सय केजी सुन आउने गरेको छ। मुख्यतः दुबईबाट बैंकहरुले सुन ल्याउने गरेका छन्।
बैंकहरुबाट सुन बिक्री नभएसम्म आयात नहुने भएको छ। जेठ १५ गतेदेखि नै नेपाली बजारमा सुनको माग कम भएको शर्माले बताए। जेठ १५ देखि सुनको मूल्य बढेको हो।
बजेटले भन्सार शुल्कवापत प्रतिकेजी ८० हजार रुपैयाँ सुनको मूल्य बढायो। बजेटअघि प्रतिकेजी ४ लाख २० हजार भन्सार शुल्क रहेकोमा बजेटपछि ५ लाख रुपैयाँ पुगेको हो।
बजेटले मात्रै नभई अमेरिका र चीनको व्यापारिक द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गयो। केही दिनअघि अमेरिकी फेडरल रिजर्भ बैंकले ०. २५ प्रतिशतले व्याज घटाएपछि बैंकहरुमा रकम जम्मा गर्नुको साटो सुन खरिद गर्नेतर्फ लगानीकर्ता लागे।
जसले माग बढाउँदा अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ प्रतिऔंस करिब १५ सय डलर पुगेको छ। यसले नेपाली बजारमा असर परेको हो।