दुरसञ्चार कम्पनी एनसेलले हाल सरकारलाई कुनै पनि कर तिर्न बाँकी नरहेको ठूला करदाता कार्यालयले जनाएको छ।
एनसेलको कुनै पनि बक्यौता नरहेको आन्तरिक राजस्व कार्यालय मातहतको ठूला करदाता कार्यालयले मंसिर २ गते अर्को एक सरकारी निकायलाई लेखेको पत्रमा उल्लेख गरेको छ।
सञ्चार उपकरण आयातका लागि अनुमति दिनुअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला करदाता कार्यालयसँग एनसेलले नियमित कर चुक्ता गरे, नगरेको र आफ्नो कारोबारसँग सम्बन्धित सबै प्रकारका दायित्वहरु अद्यावधिक गरे, नगरेको बारेमा मागेको जानकारीको क्रममा कार्यालयले यस्तो जबाफ पठाएको हो।
प्राप्त कागजात अनुसार जबाफमा ठूला करदाता कार्यालयले आफ्नो अभिलेख अनुसार एनसेलले तिर्नुपर्ने कुनै बक्यौता नरहेको उल्लेख गरेको छ।
यसबारे हामीले ठूला करदाता कार्यालयकी प्रमुख कर अधिकृत सीता बर्तौलासँग पनि जानकारी लियौं।
बर्तौलाले भनिन्, 'हाम्रो प्रणालीमा एनसेलले सरकारलाई तिर्नुपर्ने करबापत कुनै पनि बक्यौता नरहेको देखिन्छ। त्यही अनुसार तिर्नुपर्ने बक्यौता छैन भनेर पत्राचार गरेका हौं।'
एनसेलले लामो समयदेखि सञ्चार उपकरण आयात गर्न पाएको थिएन।
पछिल्लो समय एनसेललाई सरकारले आयातमा सहजीकरण गरिदिएको हो। यससँगै गत जेठमा एनसेलले आफ्नो सञ्चार उपकरण आयात गर्ने प्रक्रिया अगाडि बढाएको थियो।
प्राधिकरणबाट सहजीकरण भएपछि पछिल्ला समय एनसेलले आक्रामक रूपमा आफ्नो फोरजी सेवाको गुणस्तार सुधार र विस्तार गर्दै आएको छ।
गएको पाँच सातामा कम्पनीले देशभर ८० वटाभन्दा बढी नयाँ टावरहरु जडान गरी सञ्चालनमा ल्याएको छ।
डिसेम्बरभित्र झन्डै दुई सय वटा नयाँ टावर सञ्चालनमा ल्याउने एनसेलको तयारी छ।
