राजधानीस्थित सेन्ट्रल बिजनेस पार्कमा लागेको आगलागीका कारण भायानेटको प्रमुख डाटा सेन्टर प्रभावित भएपछि इन्टरनेट र भाया टिभी सेवामा अवरोध आएको छ।
कम्पनीले आफ्ना ग्राहक सेवामा अवरोध भएकोमा माफी मागेको छ।
भदौ २४ गते साँझ करिब ४ः४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले चौथों तलामा रहेको डाटा सेन्टरमा क्षति पुर्याएपछि देशभरका प्रयोगकर्ताले सेवा अवरुद्ध भएको अनुभव गरेका थिए।
यद्यपि भायानेटसँग ब्याकअप डाटा सेन्टरहरू रहेका भए पनि प्रमुख संरचना अचानक गुमाउँदा ती पर्याप्त नभएको कम्पनीले जनाएको छ।
भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसक्दा सुरुमा आंशिक रूपमा मात्र इन्टरनेट सञ्चालन गरिएको र भाया टिभी सेवा भने चलाउन नसकिएको भायानेटले जनाएको छ।
तर भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि प्राविधिक टोलीले आवश्यक सर्भरहरू सुरक्षित स्थानमा सारेर पुनःस्थापना गरेको थियो।
‘हाम्रो प्राविधिक टोलीको निरन्तर प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ,’ भायानेटले जनाएको छ।
कम्पनीका अनुसार आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ भने भाया टिभी सेवा पनि छिट्टै सुचारु गरिनेछ।
भायानेटले ग्राहकहरूको असुविधा बुझ्दै आगामी दिनमा यस्ता घटनाबाट सिकेर अझ बलियो नेटवर्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।