केही दिनयता विभिन्न अलर्ट आइडीमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा शंकास्पद युआरएल एड्रेस पठाएर ठगी हुने गरेको भन्दै नेपाल टेलिकमले ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।
ती सन्देशहरूमा डियर भ्यालुड कस्टमर, योर कनेक्ट आइपिएस एकाउन्ट ह्यास बिन लक्ड, प्लिज भेरिफाइ टु लगिन एन्ड सेक्युर इट भन्ने खालका वाक्य प्रयोग गरी भिन्न–भिन्न लिंक खोल्न लगाउने गरिएको टेलिकमले उल्लेख गरेको छ।
यसरी पठाइएका लिंकमार्फत कनेक्ट आइपिएसको युजरनेम र पासवर्ड प्रविष्ट गर्न लगाएर ठग्ने गरिएको पाइएकोले यसरी लगइन नगर्न नेपाल टेलिकमले उपभोक्तालाई अनुरोध गरेको छ।
कम्पनीले आफ्नो ब्लु टिकसहितको फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल पेजहरूमा प्रकाशित सूचनाबाहेक अन्य कुनै माध्यमलाई आधिकारिक नमान्न उपभोक्तालाई अनुरोध गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटमार्फत मात्र सेवाबारे जानकारी लिन ग्राहकलाई आग्रह गरिएको छ।