फोनपे नेटवर्कमार्फत अन्तरदेशीय कारोबार १० लाख नाघेको छ। नेपाल भ्रमणमा आउने भारतीयहरूले यहाँ गरेको कारोबार १० लाख नाघेको हो।
युनाइटेड पेमेन्ट इन्टरफेस (युपिआइ)सँग आबद्ध भएर फोनपेले व्यक्ति र बिक्रेताबीचको कारोबार गराइरहेको छ।
भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने अवस्था रहेको यो उपलब्धिले स्पष्ट संकेत गरेको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले बताए।
फागुन २०८० देखि भारतीय पर्यटकहरूले यो सुविधा प्रयोग गर्न पाइरहेका छन्। अहिले यस्तो कारोबारको संख्या १० लाख पुगेको छ। यी कारोबारबाट २ अर्ब रूपैयाँ भुक्तानी भएको छ।
७७ वटै जिल्लामा यो सुविधा प्रयोग गर्न सकिरहेका छन्। काठमाडौं, कास्की र कैलालीमा यस्तो सेवाको प्रयोग धेरै भएको पाइएको छ।
कुल एक लाख व्यापारी (मर्चेन्ट) मार्फत् यस्तो कारोबार गर्न सम्भव भइरहेको छ। रेष्टुरेन्ट, किराना पसल, होटेल रिसोर्टहरूमा यस्ताे भुक्तानी भइरहेको छ।
नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा भएको वृद्धि, सहज अन्तरदेशीय भुक्तानी प्रणाली सहज र यहाँका व्यापारीमाझ यो प्रणाली प्रति बढ्दो स्वीकार्यताले यस्तो भुक्तानी संख्या बढिरहेको कम्पनीले उल्लेख गरेको छ।
फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस(बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।