दक्षिण कोरियाली ब्राण्ड सामसङले सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको हो।
यो कम्पनीको फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यो फोनको डिजाइन पातलो छ।
५.८ एमएमको मोटाइ रहेको फोनको जम्मा तौल एक सय ६३ ग्राम छ। कम्पनीका अनुसार यो फोन सामसङ ग्यालेक्सी एस सिरिज अन्तर्गतको सबैभन्दा पातलो फोन हो।
फोनको डिस्प्ले ६.७ इञ्च छ। यो फोनले 'आइफोन–१७ एयर'लाई टक्कर दिने उल्लेख गरिएको छ।
फोनमा डुअल रियर क्यामरा डिजाइन गरिएको छ।
जसमा दुई सय मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा छ।
सेल्फीको लागि १२ मेगापिक्सल क्यामरा छ। फोनमा एआई विशेषता समावेश गरिएको छ। जसको सहायताले फोटो तथा भिडिओ लिँदा अनावश्यक रूपमा रहेका पछाडिका दृश्यलाई हटाउन सकिने छ।
त्यस्तै, ग्राहकले फोनमा ३९०० एमएएच ब्याट्रीका साथै २५ वाटको फास्ट चार्जिङ सुविधा पाउनेछन्।
ग्राहकले यो फोन १२ जिबी/५१२ जिबी र १२ जिबी/२५६ जिबी क्षमतामा पाउनेछन्।
फोनको मूल्य ९३ हजार तीन सय ७७ भारूदेखि सुरू हुनेछ।