नेपालमा इ–सिम प्रयोग सुरू भएको तीन वर्ष पुग्नै लाग्दा यस्तो सिम लिनेको संख्या तीन लाख ५० हजार हाराहारी पुगेको छ।
नेपालमा पहिलो पटक नेपाल टेलिकमले इ–सिमको सुरूवात गरेको थियो।
नेपालमा २०७९ भदौ ताका यस्तो सिम प्रयोग सुरू भएको थियो।
नेपाल टेलिकमका अनुसार हाल कम्पनी अन्तर्गत इ–सिम लिनेको संख्या २ लाख तीन सय पुगेका छन्। त्यस्तै, एनसेलका अनुसार कम्पनीको इ–सिम लिनेको संख्या एक लाख ५० हजार पुगेको छ।
हाल दूरसञ्चार कम्पनीहरूले जारी गरेको सिम संख्या कुल जनसंख्या २ लाख ९० हजारभन्दा धेरै छ। त्यसैले अझै पनि धेरैले मोबाइलमा भौतिक सिम प्रयोग गरिरहेका छन्।
ग्राहकहरूले चाहदा सम्बन्धित दूरसञ्चार कम्पनीको अनलाइन वा एपबाटै पनि आफूले चलाइरहेको सिमलाई इ–सिममा परिवर्तन गर्न सक्छन्।
नेपाल टेलिकमको वेबसाइट एप मार्फत् गाहकले आफ्नो सिमलाई इ–सिममा परिवर्तन गर्न सक्छन्।
टेलिकमका अनुसार ग्राहकसँग भएको मोबाइल सेटमा इ–सिम राख्न मिल्छ मिल्दैन पहिले हेर्नुपर्छ। यसको लागि *#०६# डायल गर्नुपर्छ।
यसरी डायल गरेपछि त्यसमा ८९ बाट सुरू भएको ३२ अंकको कोड देखायो भने त्यो मोबाइलमा इ सिम प्रयोग गर्न सकिन्छ भनेर बुझ्न सकिन्छ।
इ–सिममा परिर्वतन गर्नेको हालको सिम चलिरहेको सक्रिय अवस्थामा हुनुपर्छ।
कम्तीमा ५० रूपैयाँ मौज्दात पनि भएको हुनुपर्छ। अनलाइन वा एपबाट इ सिममा परिवर्तन गरिँदा कम्पनीको रेकर्डमा ग्राहकको विवरण अपडेट गरिएको हुनुपर्छ।
ग्राहकले आफ्नो नागरिकता आइडी र जारी जिल्ला प्रमाणीकरण गर्नुपर्छ। यसमा सहयोग चाहिने टेलिकमको कार्यालयसँग सहयोग माग्न सकिन्छ। फारममा नागरिकताको स्पष्ट फोटो अपलोड गर्नुपर्ने हुन्छ।
यति गरेपछि कम्पनीबाट ग्राहकले क्युआर कोड प्राप्त गर्छ। यो कोड स्क्यान गरेपछि सेटिङमा भोल्टा एक्टिभ गर्नुपर्छ।
ग्राहकले हालको सिमबाट भोल्टा एक्टिभ गर्न *४४४*२# डायल गर्नुपर्छ।
डायल गरेपछि मोबाइलको सेटिङमा गएर भोल्टा अन गर्नुपर्छ। यति गरिसकेपछि मोबाइललाई रिस्टार्ट गर्नुपर्छ। इ–सिम एक्टिभ हुन केही समय लाग्न सक्छ। यसमा केही समस्या आए नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सकिन्छ।
'धेरैले क्युआर कोड पाइसकेपछि त्यसलाई सुरक्षित गर्दैनन्,' नेपाल टलिकमका सहप्रवत्ता नवीन कुमार मिश्र भन्छन्, 'मोबाइलमा समस्या आउँदा वा कहिले काँही प्राविधिक समस्याले इ–सिम नचलेमा त्यही क्युआर कोड स्क्यान गरेपछि चल्न थाल्छ।'
यस्ता, क्युआर कोडको फोटोकपी राख्ने वा आफ्नो इमेलमा सुरक्षित गरेर राख्न गर्न सकिने मिश्र बताउँछन्।
एनसेलमा भने ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल आइडी टाइप गरेर १७१२५ मा एसएमएस पठाएर पनि इ–सिममा परिवर्तन गर्न सक्छन्।
यस्तो एसएमएस गर्दा पैसा लाग्दैन। त्यसपछि इ–सिमको प्रमाणीकरण हुन थाल्छ।
यसबाहेक कम्पनीको वेबसाइट मा गएर पनि फारम भरेर इ-सिमको लागि अनुरोध गर्न सकिन्छ।
फारममा आफूले इ–सिममा रूपान्तरण गर्न चाहेको हो होइन, हालको सिम नम्बर, वैकल्पिक मोबाइल नम्बर, सिम लिदा प्रयोग भएको आधिकारिक कागजातको विवरण (नागरिकता नम्बर वा अन्य) इमेल जस्ता सामान्य जानकारी भरे पुग्छ।
इ–सिममा परिवर्तन गर्न ग्राहकलाई एक सय रूपैयाँ शुल्क लाग्छ, त्यसैले कम्तीमा त्यति रूपैयाँ मौज्दात सिममा हुनुपर्छ।
एनसेलले इ–सिम चल्ने केही मोबाइल सेटहरूको जानकारी समेत राखेको छ। आइफोनमा ११ देखि हालसम्मका सिरिज र एक्सएस सिरिजमा इ–सिम चल्छ।
त्यस्तै, सामसङ र गुगलका नयाँ सिरिजहरूमा पनि चल्छ। त्यसबाहेक ग्राहकले *#०६# डायल गरेर पनि यस्तो जानकारी लिन सक्छन्।