जतिखेर अहिले जस्तो जुम वा गुगल मिट थिएन, त्यतिखेर थियो, स्काइप। तर, अबको केही समयपछि स्काइप सदाको लागि बन्द हुने भएको छ।
प्रविधिको दुनियाँमा सृजनशीलताले कसैलाई पनि पर्खिबस्दैन भन्ने उदाहरण बन्दको संघारमा रहेको स्काइपलाई हेरेर भन्न सकिन्छ।
सन् २०११ मा माइक्रोसफ्टले आठ अर्ब ५० करोड डलरमा खरिद गरेको थियो।
कुनै समय स्काइप प्राविधिक उपकरण मात्रै थिएन। यो कामकाजी मानिसहरूको दैनिकी नै बनेको थियो।
स्क्रिन सेयर गर्न, फाइल पठाउन होस् वा माइक्रोसफ्टको आउटलुकसँग अन्तरआबद्धता गर्न सकिने स्काइप त्यो बेला प्रविधिक रूपान्तरण नै थियो।
अहिले भने यो आउटडेटेड भइसकेको छ भने नयाँ नयाँ प्रविधिसँगै यसको उपदेयिता नै सकिएको छ।
सन् २०२४ सम्ममा स्काइपका प्रयोगकर्ता तीन करोड हाराहारी थियो। तर, माइक्रोसफ्टले यसमाभन्दा बढी माइक्रोसप्ट टिम्समा ध्यान दिन थालेको थियो। माइक्रोसप्ट टिम्समा ३२ करोड हाराहारी प्रयोगकर्ता छन्।
आगामी मे ५ सम्म स्काइप रहनेछ। त्यो समयसम्म यसका प्रयोगकर्ताहरूले यसमा रहेको च्याट, कन्ट्याक र कल हिस्ट्री जस्ता तथ्यांकहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्नेछन्।
यसअघि सन् २०१९ मा ब्लाकबेरी म्यासेन्जर, सन २०१४ मा अरकाट र सन् २०१८ मा याहु म्यासेन्जर पनि बन्द भएका थिए।