अहिले विश्व बजारमा आउने हरेक नयाँ पाँच वटा आइफोन सेटमध्ये एउटा सेट भारतमा उत्पादन भइरहेको छ।
ब्लुम्बर्गको रिपोर्ट अनुसार भारतको एक आर्थिक वर्ष (२०२४ अप्रिल १ देखि २०२५ मार्च ३१ सम्म) मा भारतमा आइफोनको उत्पादन ६० प्रतिशतले बढेर २२ अर्ब डलर पुगेको छ।
भारतमा हुने कुल उत्पादनमध्ये करिब १७ अर्ब ४० करोड डलर बराबरको निर्यात गरेको भारतीय सञ्चार मन्त्रालयलाई उदृत गर्दै टाइम्सले लेखेको छ।
भारतमा फक्सकन टेक्नोलोजी ग्रुपले टाटा ग्रुप इलेक्ट्रोनिक्स डिभिजनसँग मिलेर भारतमा एप्पल फोनको एसेम्बल गर्दै आएको छ।
आइफोन निर्माता जाइन्ट कम्पनी कुपरटिनोको उत्पादन चीनबाटसरेर क्रमशः भारतमा बढ्न थालेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। कोभिडकालीन समयमा चीनमा परेको प्रभावको कारण भारतबाट हुने उत्पादन बढ्न थालेको थियो।
हुनतः चीनबाट उत्पादन पूरै अन्यत्र सर्न त्यति सजिलो भने छैन।
ब्लुम्बर्गका विज्ञहरूले यसअघि नै चीनमा भइरहेको उत्पादनको १० प्रतिशत हिस्सामात्रै अन्यत्र उत्पादन हुने गरेर सर्न समेत आठ वर्ष लाग्न सक्ने प्रक्षेपण गरेको थियो।
पछिल्लो समय भारतबाट आइफोन उत्पादन थप बढ्न सक्ने आँकलन गरिएको छ।
विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाएको रेसिप्रोकल (परस्परिक) कर भारतबाट निर्यात हुने स्मार्ट फोन लगायतका विद्युतीय उपकरणमा नलाग्ने घोषणा गरेको छ।
जबकि चीनलाई यस्तो छुट दिइएको छैन। ट्रम्प प्रशासनले पछिल्लो पटक यस्तो कर ९० दिनको लागि स्थगित गरेको छ।
भारतमा अहिले सबै रेञ्जका आइफोन उत्पादन भइरहेको बताइन्छ।
सरकारले विद्युतीय उपकरणहरूको उत्पादनमा सहुलियत समेत दिएको छ। उत्पादन हब बनाउने योजना अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदीले यस्तो उत्पादनमा सघाउने गरेर करिब दुई अर्ब ७० करोड बराबरको वित्तीय सहुलियत कार्यक्रम घोषणा गरेका छन्।
सन् २०२४ मा आठ अर्ब डलर बराबरको बिक्री रेकर्ड राखेको एप्पलले भारतीय स्मार्ट फोन बजारमा ८ प्रतिशत हिस्सा ओगट्छ।