नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसइई अफर २०८१ उपलब्ध गराउने भएको छ।
यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।
एसइई अफर तथा बोनस अन रिचार्ज चैत १५ गतेदेखि असार ३० गतेसम्म उपलब्ध हुनेछ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ।
सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्।
पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरू उपभोग गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरूले सिमकार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने ९ रूपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन्।
यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डेटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसाेर्स सोही दिनका लागि मात्र कायम रहनेछ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसइईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।
साथै सिमकार्ड एक्टिभेट गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ। सो पश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी निर्देशन फलाे गर्नुपर्नेछ।
• *१६००# डायल गर्दा प्राप्त निर्देशन अनुसार एसइई सिम्बाेल नम्बर (अल्फाबेट बाहेक) टाइप गरी पठाउने
• जन्ममिति टाइप गरी पठाउने
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।
रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीको भनाइ छ।