राहदानी विभागले राहदानी छपाइका लागि गरिएको ग्लोबल टेन्डरमा फेरि १० दिनको समय थप गरेको छ।
यसअघि फेब्रुअरी ११ (आज) सम्मको लागि समय टेण्डर समय दिइएको थियो। विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयको आग्रहपछि फेब्रुअरी २१ सम्मको लागि टेण्डरको लागि समय थप गरेको हो।
पहिलोपटक मंसिर १३ (नोभेम्बर २८) मा ग्लोबल टेन्डर आह्वान गरेको थियो। त्यसपछि विभिन्न कम्पनीहरूको मागअनुसार एक महिनाको समय थप गरेर म्याद २०२५ को फेब्रुअरी ११ सम्म पुर्याइएको थियो।
विभागले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरूसँग १९ डिसेम्बरमा छलफल भएको थियो। त्यस छलफलमा समय थपको माग उठेपछि विभागले म्याद लम्ब्याउने निर्णय गरेको थियो।
त्यही क्रममा ठेक्कामा संयुक्त लगानीलाई पनि सहभागी हुन दिनेसम्बन्धी टेन्डर संशोधन गरिएको थियो।
राहदानी विभागले समयमै टेन्डर प्रक्रिया पूरा गरी पासपोर्ट आपूर्तिमा कुनै समस्या नआउने सुनिश्चित गर्ने जनाएको छ।
विभागले अहिले १० लाख २१ हजार ७०० पासपोर्ट छपाइका लागि बाँकी रहेको र यसले करिब एक वर्षलाई पर्याप्त हुने जानकारी दिएको छ।