सरकारले नेपाल टेलिकमबाट आफ्नो सेयर स्वामित्व घटाउने र सर्वसाधारणको स्वामित्व बढाउने भएको छ।
नेपाल टेलिकमको २१औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत सेयर सर्वसाधारणमा रहने गरी तयारी भइरहेको बताएका हुन्।
यो वर्षभित्रै सर्वसाधारणको कम्तीमा २५ प्रतिशत हिस्सा पुर्याउने योजना रहेको मन्त्री गुरूङले बताए।
'पब्लिकको स्वामित्व धेरै भयो भने जनताले आफ्नो महसुस गर्छन्, काम नगर्दा निगरानी गर्छन्,' उनले भने।
हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व छ।
उनले दूरसञ्चार क्षेत्रमा कुनै समय सबैभन्दा अगाडि भएको हाम्रो देशलाई दक्षिण एसिया क्षेत्रको सबैभन्दा कान्छो देश भुटानले पछि पारिसकेको समेत टिप्पणी गरे।
नेपाल टेलिकमले आफ्नो सेवाको क्षेत्र विस्तार गर्नुपर्ने र कार्य क्षमता बढाउनुपर्ने उनले बताए।