भारतीय सीमा क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा आइतबार राति नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपालका अधिकांश इन्टरनेट सेवा प्रभावित भएको थियो।
आवश्यक प्राविधिक मर्मतपछि करिब ४५ मिनेटपछि नै सेवा पुनः सञ्चालनमा आएको बताइएको छ।
तर क्षतिको कारण नभई नेपाली कम्पनीहरूले भारतीय कम्पनीहरूलाई ब्याण्डविथबापतको रकम तिर्न बाँकी रहेकाले ब्याण्डविथ काटिदिएको स्रोतहरूले बताएका छन्।
भारतको एयरटेल, टाटा लगायतका ब्याण्डविथ नेपाली सेवा प्रदायकहरूले खरिद गर्दै आएका छन्।
तर, ब्याण्डविथबापतको अर्बौं रूपैयाँ नेपाली इन्टरनेट सेवा प्रदायकले तिर्न बाँकी रहेकाले ब्याण्डविथ काटिएको सेवा प्रदायकहरूले बताएका छन्।
'लामो समयको विवादपछि हामीमध्ये धेरैले मर्मत अन्तर्गतको रोयल्टी लगायतका शुल्क बुझाइसकेका छौ,' एक सेवा प्रदायकले भने,'तर, शुल्क बुझाएका हामीले पनि भारतका ब्याण्डविथ प्रदायक कम्पनीलाई भुक्तानी दिन पाएका छैनौं।'
यी कम्पनीले विदेशी मुद्रा विनिमयको सुविधा नपाएका कारण भारतीय कम्पनीलाई भुक्तानी दिन पाएका छैनन्। यस्तो भुक्तानी दिनुपर्ने रकम ५-६ अर्ब रहेको बताइएको छ।
अहिले नेपालले सिंगापुर, चीनबाट समेत ब्याण्डविथ खरिद गरेर नेपाल उपभोक्तालाइ इन्टरनेट सुविधा दिइरहेका छन्।