सागर ग्रुपले आगामी माघ २३ देखि २९ गतेसम्म प्रविधि मेला आयोजना गर्ने भएको छ।
बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाइफ स्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधि मेलाको तेस्रो संस्करण हो।
यस मेलाले ब्राण्ड र ग्राहकबीचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिए।
देशभरबाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै सहजताको लागि क्यान इन्फोटेककै समयमा सञ्चालन गरिनेछ।
यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।
ग्रुपको यो प्रविधि मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माइक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आइडिपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरू रहनेछन्।
सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधिहरूले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी सञ्चालन गरिने मेलाले जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन्। साथै मेला लक्षित गरी ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन्।
यस कार्यक्रमा सहभागीलाई विभिन्न किसिमका ट्रेनिङ पनि दिइनेछ।