इसेवाले १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरू थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिबद्धताका साथ आफ्नो १६ औं वार्षिक उत्सव मनाएको हो।
मोबाइल टपअपबाट सेवा सुरू गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्छ।
कम्पनीका अनुसार इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्। त्यसैगरी इसेवाको २ लाख ६८ हजारभन्दा बढी एजेन्ट र ४ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू छन्।
इसेवाले आगामी दिनहरूमा आफ्नो सेवाहरू विस्तार गर्ने योजनाहरू बनाइरहँदा आफ्नो प्रयोगकर्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ फिचरहरू ल्याउनुको साथै तिनको स्तरोन्नतिमा समेत कार्यरत रहने प्रतिबद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन्।
यसै क्रममा इसेवाले हालसालै ल्याएको नयाँ फिचर हो 'फाइनान्स ३६०', यसको साथ ग्राहकहरूले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरण हेर्न सकिन्छ। यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरू रहेको छ।