मंगलबारदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ।
सेवाग्राहीले अब नागरिक एपमा भएका सुविधा सहजै प्रयोग गर्न पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले जानकारी दिए।
'हिजोबाट नागरिक एपमा राष्ट्रिय परिचय पत्र राखेका छौं,' उनले भने, 'राष्ट्रिय परिचय पत्र छापिएका नागरिकले परिचयपत्रको विवरण हेर्न सक्छन्।'
उनका अनुसार नागरिक एपभित्र नेसनल आइडी अप्सनमा गएर आफ्नो परिचयपत्र नम्बर राखेपछि सम्पूर्ण विवरण देखिन्छ। यसले नागरिकलाई कार्ड नबोकेको अवस्थामा पनि सहजीकरण गर्नेछ।
'अहिले जुनसुकै सरकारी सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य जस्तै भइसक्यो। त्यो अवस्था एपमा लिंक गर्दा सहज हुन्छ,' उनले भने।
हालसम्म ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्।
आर्थिक वर्ष २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रूपमा बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड वितरण गर्ने अवधारणा आएको हो।