इसेवा लिमिटेडले १६ वर्षको यात्रा पूरा गरेको छ।
सन् २००९ मा बेटा भर्जनबाट सुरू गरेको इसेवाले सन् २०१२ देखि भने इसेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ।
'पहिले इसेवा डेक्सटप कम्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो। बजारमा रिचार्ज कार्ड सहजै पाइदैनथ्यो,' इसेवाले भनेको छ, 'टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टममा गइसकेको थिएन। इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गर्दथ्यो।'
यसरी सुरू भएको इसेवा सन् २०१२ देखि छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ। सो अघिसम्म इसेवा एफवान सफ्टको एउटा प्रोडक्ट थियो।
सन् २०१२ मा इसेवाले एजेन्ट नेटवर्क पनि सुरू गर्यो। इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो। अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट इसेवामार्फत लिन सकिन्छ।
नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना आफैंमा एउटा सपना थियो।
नेपालमा डेढ दशक अघिसम्म पनि आपसी लेनदेनमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो।
बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षा चुनौतीले गर्दा नगद कारोबार जोखिमयुक्त थियो। आमजनता हैरानी खप्न बाध्य थिए। नेपालजस्तो विकासशील देशमा नगद कारोबारको कुनै अरू विकल्प हुन सक्छ भन्ने कसैले सोचेकै थिएन।
मोबाइल टपअपबाट सुरू भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ। इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, बीमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिंक सुविधा दिँदै आएको छ।
इसेवाले आफ्ना सेवाग्राहीलाई प्रत्यक्षरूपमा सहज जीवनशैली प्रदान गर्नुका साथै नेपालको जलवायुमा समेत उल्लेखनीय योगदान पुर्याएको छ।
हामीले दैनिकरूपमा नगद कारोबार गर्दा ठूलो मात्रामा कागजको प्रयोग हुने गर्दछ। तर, अनलाइन भुक्तानीमार्फत इसेवाले अहिलेसम्म लगभग ३ लाख ७२ हजार ३४० किलो कागज बचाएको दाबी गरेको छ।
नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युतप्राधिकरणको बिल भुक्तानी इसेवामार्फत गर्दै आएका छन्, जसले उपभोक्ताको समयको बचतका साथै १० लाख वटा रसिद छपाइमा प्रयोग हुने कागज, मसी र इन्धनको समेत बचत भएको छ।
त्यति मात्र नभइ नेपालमा नै पहिलोपटक सेवाग्राहीद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट इभिएका साथै एजेन्टहरूलाई प्रवाह गरेको इजी लोन सेवाबाट नेपालको डिजिटल भुक्तानीमा नयाँ आयामको सुरूवात भएको छ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ।
इसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन्।
इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्ने योजना बनाउँदैछ। आगामी दिनमा भुक्तानी मात्र नभइ बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य इसेवाले लिएको छ।
बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने अपेक्षा इसेवाको छ। आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फण्ड तथा लगानीका विविध योजना पनि ल्याउने तयारी पनि गरिरहेको छ।
इसेवाले अहिले मर्चेन्टहरूलाई मात्र प्रदान गर्दै आएको इजीलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत लक्ष्य राखेको छ।
एआईको प्रयोग गरी ठगी र संधिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागु गर्ने योजना इसेवाको छ।
इसेवाले सन् २०१३ मा 'बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड' समेत प्राप्त गरेको छ।